एमालेका सांसद कोइरीका कारण संसदमा बबाल, कांग्रेस–रास्वपासहित सबैद्वारा अबरोध

काठमाडौं । एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसदको बैठक अबरुद्ध भएको छ ।

शुक्रबार बसेको संसदको बैठकमा एमाले बाहेकका सबै दलका सांसदहरू उभिएर विरोध जनाएपछि आधा घण्टा संसदको बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा बिरामी भएको भनिएको छ ।

सभामुख घिमिरेले कोइरीलाई बिरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

एमले बाहेकका दलका सांसदहरूले कोइरीको संसद बैठकमा अनुपस्थितिको विषयमा संसदमा प्रश्न उठाएका छन् ।

सांसदहरूको अनुपस्थित अनुमोदन गर्न सभामुख घिमिरेले सदनमा प्रस्तुत गरेपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरूले स्वीकृति प्रदान गर्न नसकिने भनी प्रश्न उठाएका छन् ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कोइरीको अनुपस्थितिलाई अनुमोदन गर्न नसकिने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोइरी फरार रहेको र फेला पर्दा जेल जाने अवस्था रहेको र यो तथ्य भएको उल्लेख गरेका छन् ।

फरार सांसदले स्वास्थ्य उपचारमा रहेको भनी सदनमा प्रस्ताव आउनु भन्दा अर्को जग हसाइ अर्को नहुने बताए ।

सांसदहरूले फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर घर गए भनेर मासिनहरूले भन्छन् भनी लेखकले कोइरी बिरामी रहेको स्वीकार गर्न नसकिने बताएका छन् ।

सरकारले खोज्दै गरेको सांसदलाई बिरामी प्रमाणित गरेर उन्मुक्ति दिन नसकिने लेखकको भनाइ छ ।

कोइरी बिरामी हुन कि फरार हुन भनेर अदालतमा प्रश्न उठ्यो भने के फैसला गर्ने भन्ने अप्ठ्यारो समेत पर्ने उल्लेख गर्दै उनले झुटा कुरा पारित गर्न नसकिने बताए ।

कांग्रेसका सांसद रामहरि खतिवडाले पनि एमालेका सांसद कोइरीलाई पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले कोइरीका विषयमा सदनमा कुरा उठाउँदा एक जना सांसदले आफ्नो व्यक्तिगत चरित्रमा प्रश्न उठाएर सार्वजनिक अभिव्यक्ति दिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन् ।

विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए ।

‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो’, पूर्व गृहमन्त्री लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए ।’

‘उनको तस्वीर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’

सभामुख घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएका छन् ।

सोही अनुसार उनको अनुपस्थिति अनुमोदनका लागि प्रस्तुत भएपछि रास्वपा सभापति लामिछानेले विरोध गरेका हुन् ।

Published : Friday, 2023 April 28, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया