नगरप्रमुख साम्पाङद्वारा धरानमा ज्वाइँसहित १९ जना नातेदारलाई जागिर खुवाए

धरान । धरान उप–महानगरपालिकाका ‘चर्चित’ नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले पारिवारिक नाता पर्नेहरूलाई गुपचुपमा कर्मचारी नियुक्ति गरेका छन् ।

नगरप्रमुख राईले पनि पुरानै प्रवृत्तिलाई दोहो¥याएर आफन्तहरूलाई तोकआदेशका भरमा जागिर खुवाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भने स्पष्टसँग करारमा कर्मचारी नियुक्त गर्दा प्रतिस्पर्धा गराउनुपर्ने उल्लेख छ ।
ऐनको दफा ८३ मा प्रशासकीय सङ्गठन र कर्मचारी दरबन्दीसम्बन्धी व्यवस्था रहेको छ ।

दफा ८३ को १ मा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको अधिकार क्षेत्र तथा कार्यबोझ समेतको विश्लेषण गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामका लागि आवश्यक पर्ने तथा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव तयार गर्नुपर्ने व्यवस्था छ ।

प्रस्ताव गरेपछि विज्ञापन गरी कर्मचारी प्रतिस्पर्धाबाट भर्ना गर्नुपर्ने स्पष्टसँग ऐनमा व्यवस्था छ ।

ऐनको उपदफा ८ मा ‘नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली बगैँचे, सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनुपर्नेछ’ भनिएको छ ।

पारदर्शी भएको दाबी गर्दै आएका नगरप्रमुख साम्पाङले पनि पुनरावृत्ति भएपछि अहिले आलोचना सुरु भएको छ ।

नगरप्रमुख राईले धरान–७ को अध्यक्षका उम्मेदवार बनेका अशोक शर्मालाई राजस्व महाशाखाको सूचना सङ्कलकमा नियुक्त गरेको उप–महानगरको कर्मचारी विवरणमा उल्लेख छ ।

शर्मासँगै नगरप्रमुख राईले स्मृति लामालाई पनि सूचना सङ्कलक नियुक्त गरेका छन् । नगरप्रमुख राईले रोलर चालकमा फुपूको छोरा नातामा भाइ पर्ने धनराज राईलाई नियुक्त गरेका छन् । यी तीन जनालाई नियुक्त गर्दा ऐनले तोकेको नियमलाई पूरा गरेका छैनन् ।

धरानको घण्टाघर काउन्टरमा जेठी श्रीमतीतर्फकी छोरीको श्रीमान् (नातामा ज्वाइँ पर्ने) अभिषेक राईलाई पनि नियुक्ति दिएका छन् ।

घण्टाघर इञ्चार्जमा भने आफ्नै जेठान पर्ने अनुज भुजेललाई जिम्मेवारी दिएका छन् । खानेपानी व्यवस्थापन बोर्डका निष्कासित चालक तेजकुमारका अनुसार समिर नामका कार्यालय सहयोगी (चौकीदारलाई निकालेर गोपाल राई ‘कोपिला’लाई सिधै नियुक्ति दिएका छन् ।

धरानको घण्टाघरमा १७ वर्षदेखि कार्यरत नरबहादुर सुब्बाले सिधै काम गर्न आएपछि मात्रै कर्मचारी नियुक्त गरेको आफूले थाहा पाएको बताए ।

उनले नयाँ कर्मचारी ७ सय ५० रुपियाँ ज्याला दिई पुरानालाई ६ सय ९५ रुपियाँ मात्रै दिने गरेको पनि बताएका छन् । घण्टाघरबाट एक जना कर्मचारीलाई हटाइएको छ ।

धरान नगरको करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७५ को दफा ४ मा छनौट सम्बन्धी व्यवस्था छ । दफा ४ को उपदफा १ अनुसार कर्मचारी नियुक्त गर्न कार्यालयको सूचनापाटी वा सार्वजनिक निकायमा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । दफा ५ मा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय प्रारम्भिक छनौट गर्न र अन्तरवार्ताका लागि समति बन्नु पर्ने व्यवस्था छ । उक्त समितिले प्रक्रिया पूरा गरेर कर्मचारी भर्ना गर्नुपर्ने हो ।

वर्तमान नगरप्रमुख राईले पनि त्यही प्रक्रिया दोहोर्‍याए । बोर्डमा माली २, प्लम्बर ४, चौकीदारलगायत १९ जना नियुक्त गरेको स्रोतको दाबी छ ।

(ब्लाष्ट दैनिकमा प्रकाशित समाचारबाट सम्पादन गरेर साभार गरिएको हो)

Published : Friday, 2023 April 28, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया