ओलीलाई आफ्नै जिल्लामा खतरा, कालोझण्डा देखेपछि एमालेद्वारा काठमाडौंमा बबण्डर

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै गृहजिल्ला झापामा कालोझण्डासहित विरोधको सामना गर्नुपरेको छ ।

बुधबार ओलीविरुद्ध सडकमा कालोझण्डासहित विरोध प्रदर्शन भएको हो । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले ओलीलाई कालोझन्डा देखाएको झापा प्रहरीले जनाएको छ ।

ओली बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टीको ग्रास रुट कार्यक्रममा सहभागी भएका थिए । पहिचानवादीहरूले ओलीलाई कालोझन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए ।

उनीहरूले ‘कोशी प्रदेश चाहिँदैन’ जस्ता नारा लगाउँदै एमालेका अध्यक्ष ओलीलाई कालो झन्डा देखाएका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई करीव एक सय मिटर टाढा नै रोकेको थियो ।

अध्यक्ष ओलीलाई कालोझन्डा देखाएको आरोपमा प्रहरीले २ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओलीलाई कालोझण्डा देखाएर विरोध प्रदेश गर्नेहरूलाई पक्राउ गरिएको जानकारी सदनलाई गराएका छन् ।

एमाले सचेतक पदम गिरीले सत्ता पक्षका कार्यकर्ताको घुसपैठमा अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको आरोप लगाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख (एसपी) दुर्गाराज रेग्मीले घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको बताएका छन् ।

‘एक्कासि प्रदर्शनकारीले ढुंगा प्रहार गरे । ढुंगाले लागेर प्रहरीको टाउकोमा चोट लागेको छ’, एसपी रेग्मीले भने, ‘प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदीपनारायण राजवंशी घाइते भएका छन् ।’

प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते कोशी राखिएको थियो । पहिचानमा आधारित नाम नराखेको भन्दै पहिचानवादीहरू आन्दोलनमा छन् ।

उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एक जनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुखद् भएको भन्दै सो कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् ।

घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए । उनले सो घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएको बताए ।

ओलीलाई आफ्नै जिल्लामा कालोझण्डाको सामना गर्नु परेपछि एमालेले त्यसलाई राजनीतिक रंग दिन खोजेको छ । एमालेका मुख्य सचेतक गिरीले ओलीलाई कालोझण्डा देखाएर विरोध गर्नेहरू सत्तापक्षका कार्यकर्ता भएको आरोप लगाएर सदनमा बबण्डर मच्चाएका हुन् ।

Published : Wednesday, 2023 April 26, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया