एनआईसी एसिया बैंकले लुम्बिनीमा १२ करोडको होटल खाइदियो, त्यसपछि बैंकमै ताला लगाइदिए

काठमाडौं । निकै विवादित एनआईसी एसिया बैंकले लुम्बिनीस्थित एउटा होटल हडप्न खोजेको छ । होटल हडप्न खोज्दा त्यस क्षेत्रका सम्पूर्ण पर्यटन व्यवसायीहरूले एनआइसी एसिया बैंकको शाखा घेराउ गरेर विरोध गरेका छन् । प्रदर्शनकारीले घेराउन गरेर बैंकको कारोबार ठप्प पारेका छन् ।

एनआइसी एसिया बैंकबाट ऋण लिएका होटल आकाश इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक उमाशंकर मिश्रले बैंकबाट आफू पीडित भएको भन्दै अहिले हारगुहार गरिरहेका छन् ।

मिश्र र बैंकका अनुसार असोज मसान्तसम्म बैंकको सबै ब्याज चुक्ता छ । चैत मसान्तभित्र बाँकी ६ महिनाको ब्याज बुझाउनुपर्ने थियो ।

होटल राम्रोसँग नचलेका कारण मिश्रलाई ब्याज तिर्न कठिनाई भइरहेको थियो । मिश्रले बैंकसँग एक महिनाको समय दिन माग गरेका थिए ।

बैंकले तत्काल १० लाख रुपियाँ जम्मा गरेर ब्याज तिर्ने समयावधि बढाउन सुझाव दिएको थियो । मिश्रले बैंकमा १० लाख रुपियाँ जम्मा गरेका थिए । त्यसको केही दिनमै पुनः बैंकले मिश्रलाई ९ लाख रुपियाँ जम्मा गर्न चेतावनी दिएको थियो ।

बैंकसँग मिश्रले १५ दिनको समय माग गरेका थिए । उनी ९ लाख तिर्न तयार भएर रकम जुटाउनतर्फ लागेँका थिए । तर, ९ लाख जुटाई नसक्दै पुनः बैंकले ३० लाख जम्मा गर्न आदेश दिएको थियो ।

एनआईसी एसिया बैंकबाट पीडित बनेका मिश्रले भने, ‘कहिले कति रकम । कहिले कति रकमभन्दै ममाथि निरन्तर बैंकका कर्मचारी टर्चर गर्न थालेका छन् । एक महिना समय मागेर मैले पैसा जम्मा गर्ने प्रतिबद्धता जनाएँ ।’

बैंकले चैत २९ गते मिश्रको होटल आफ्नो नाममा गराएको छ । उनले भने, ‘ऋण तिर्न छ, मैले पनि तिर्छु भनेकै छु, केही थप समय मात्रै मागेको हुँ । मालपोत कार्यालयका कर्मचारीलाई घुस खुवाएर बैंकले एकाएक मेरो करोडौंको होटल आफ्नो नाममा बनायो ।’

पीडित मिश्रले न्याय माग गर्दै सबैसँग हारगुहार गरिरहेका छन् । उनले एनआईसी एसिया बैंकलाई कारबाही गर्न माग गरेका छन् ।

मिश्रको दुई कठ्ठा ६ धुरमा बनेको साढे चार तल्लाको होटल छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा रहेको उक्त होटल आकर्षक छ ।

स्थानीय घरजग्गा व्यापारीका अनुसार अहिलेकै मन्दीको अवस्थामा पनि होटल विक्री गर्दा न्यूनतम १२ करोड पर्छ । १२ करोड पर्ने होटल बैंकले ४ करोड ८३ लाखमा मूल्य कायम गरेर आफ्नो नाममा बनाएको छ ।

पाँच वर्षअघि मिश्रले बैंकबाट ३ करोड ७० लाख रुपियाँ ऋण लिएका थिए । अहिले उक्त ऋण बढाएर ५ करोड ८५ लाख पुगेको छ ।

मिश्रका अनुसार सुरुमै बैंकले मूल्यांकन गर्दा ५ करोड ८५ लाख गरेको थियो । अहिले सुरुको मूल्यांकनअनुसार पनि दररेट कायम गरेन ।

एनआईसी एसिया बैंकले मिश्रको होटलमाथि मौकामा चौका हानेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले टिप्पणी गरेका छन् । उनले भने, ‘एनआईसी एसिया बैंकको यो ज्यादती हो । यस्तो अवस्थामा ब्यवसायीलाई सहजीकरण गर्नुको सट्टा तनाव दिने । सम्पत्ति हडप्ने गर्नु बैंक आतंक हो ।’

राष्ट्र बैंकको नियमअनुसार कुनै ऋणीले ब्याज तिरिरहेको बेला उसको सम्पत्ति लिलामी गर्ने तथा बैंकले आफ्नो नाममा बनाउन पाउँदैन ।

कर्मचारीले बदमासी गरेकै कारण अहिले बैंकले क्षेत्रीय कलस्टर प्रमुख, लुम्बिनी शाखा प्रबन्धक, कर्मचारी सबैलाई सरुवा गरेर नयाँ कर्मचारी पठाएको छ । यसले पनि बैंकले बदमासी गरेको पुष्टि हुने संघका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

बैंकले थाहा नदिई मिश्रको होटल आफ्नो नाममा गराएपछि वैशाख ३ गते होटल व्यवसायी, स्थानीय र निजी क्षेत्रका अगुवाहरू लुम्बिनी पुगेर बैंकमा केहीबेर तालाबन्दी समेत गरेका थिए ।

बैंक तत्कालीन कलस्टर प्रमुख मिलन कोइराला, निजी क्षेत्रका प्रतिनिधि, पीडित मिश्र, प्रहरी बसेर लुम्बिनी छलफल भएको थियो ।

छलफलमा बैंकका प्रतिनिधिले केही त्रुटि भएको भन्दै आफूहरूले मिश्रलाई सहयोग गर्ने जनाएका थिए । अहिलेसम्म कस्तो किसिमको सहयोग भन्ने बैंकले खुलाएको छैन ।

एनआईसी एशिया बैंकले देशभरिका ऋणि र व्यवसायीमाथि अन्याय, अत्याचार गरिरहेका समाचार आइरहेका बेला मिश्रको होटल कब्जा गरेको घटना बाहिरिएको छ ।

मिश्रको होटलको घटनाका बारेमा प्रतिक्रिया लिन एनआईसी एसियाको हेडक्वाटरका सूचना अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन मानेनन् । सम्पर्कमा आएका अर्जुनराज खनियाँले खुलेर जवाफ दिन मानेनन् । उनले आफू गुनासो सन्ने व्यक्ति भएको भन्दै डेपुटी सिइओसँग कुरा गर्न सुझाव दिए । तर, डेपुटी सिइओ पनि विदेश गएको खनियाँले बताए ।

Published : Tuesday, 2023 April 25, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया