एमालेको अर्को सरकार ढल्यो, फेरि मुख्यमन्त्री बन्न गिरीको हर्कत, कांग्रेसका चौधरीले पाए साथ

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको कम्युनिस्ट सरकार अल्पमतमा परेपछि ढलेको छ ।

सोमबार मुख्यमन्त्री लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको हो । एमालेको सरकारलाई समर्थन गरेका दलहरू माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसालगायतका स्वतन्त्र सासंदहरूले सरकारबाट समर्थन फिर्ता गरेका छन् ।

समर्थन र्फिता लिएपछि मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत लिन गरेको प्रयास असफल भएको छ । गिरीले संसदबाट विश्वासको मत लिन नसकेपछि उनी नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद संख्या रहेको छ । लुम्बिनी प्रदेशमा सरकार सञ्चालन तथा गठनका लागि ४४ जना सांसदको समर्थन चाहिन्छ ।

सोमबार मुख्यमन्त्री गिरीको पक्षमा ३३ सांसदमात्रै देखिएका छन् । गिरीको विपक्षमा ५३ जना सांसदले मत दिएका छन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढलेपनि एमालेका गिरीले सरकार बनाउन असफल प्रयास गरिरहेका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपाली कांग्रेससहितका दलहरूले दाबी पेश गरेअनुसार सरकार बनाउन संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत सांसदको मागअनुसार सरकार बनाउन दिनुपर्छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीलगायतले संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुपर्ने बताउँदै आएका छन् । सरकार बनाउन दलहरूको बहुमत हुँदाहुँदै संविधानको धारा १६८ (२)अनुसार नै सरकार बनाउन आह्वान गर्नुपर्ने माग गरेर कांग्रेससहितका दलहरूले एक महिना अगाडि नै दाबी पेश गरिसकेका छन् ।

सरकार ढलेपछि एमालेले संविधानको धारा १६८ को उप–धारा ३ अन्तर्गत अबको सरकार गठन हुनुपर्ने बताउँदै आएको छ । ३ अनुसार ठूलो दलको हैसियतले एमालेले सरकार गठन गर्ने लोभ देखिरहेको छ । एमालेको मागअनुसार बन्न सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । एमालेले एक महिनापछि पनि विश्वासको मत लिन सक्ने अवस्था छैन ।

संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा १६८ (३) मा भने प्रदेश प्रमुखले प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मंंगलबार बिहानसम्म प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भएकाले त्यसपछि कांग्रेससहित आफूहरूले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बताएका छन् ।

विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

यसअघि ८ दलका ५३ सांसदहरूले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दावी पेश गरिसकेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेको २९, नेपाली कांग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा (एकीकृत समाजवादी) १ रहेका छन् ।

Published : Monday, 2023 April 24, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया