जीतनारायण श्रेष्ठलाई जिताउन देउवाद्वारा अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप–निर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन् ।

बिहीबार चितवनको कालिका नगरपालिकामा आयोजित चुनावीसभामा देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरेका छन् ।

उनले भने, ‘तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।’ देउवाले अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने बताएका छन् । उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरेका छन् ।

‘चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गछौंँ’, देउवाले भने, ‘जीतनारायण श्रेष्ठ काम गरेको र दु:ख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ ।’

सभापति देउवाले भने, ‘विक्रम संवत् २००७, २०४७ साल र २०६२–६३ सालको जनआन्दोलनमा चितवनका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन् ।’

कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले देशमा व्यक्तिवादी चरित्र हाबी हुन थालेको बताएका छन् । उनले पुराना र इतिहास बोकेका पार्टीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘अवसरवादीले राजनीतिक दललाई घेराबन्दी गरेका छन्, त्यसलाई तोडेर अघि बढ्नुपर्छ’, डा.कोइरालाले भनेका छन् । केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी चार वर्षमा आम नागरिकले देख्ने गरी विकास हुने बताएका छन् ।

विकासका लागि सत्ता गठबन्धनका उम्मेदवार जिताउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेसका नेता तथा चितवन २ का उम्मेदवार जीतनारायण श्रेष्ठले आफूले यस क्षेत्रको समस्या नजिकबाट पहिचान गरेकाले समस्या समाधान गर्न पनि जिम्मेवारी दिन आग्रह गरेका छन् ।

‘चितवनको विकासका लागि मेरो भूमिका महत्वपूर्ण रहनेछ’, श्रेष्ठले भने, ‘चितवनको विश्वासलाई धोका दिने छैन ।’

Published : Thursday, 2023 April 20, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया