उप–निर्वाचनलाई ध्यान दिएर कांग्रेसले दियो एकताको सन्देश

काठमाडौं । नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिद्वारा २०७४ र २०७९ सालका तीन तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र पार्टीको हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएकाहरूको कारबाही फुकुवा गरिएको हो ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वत: कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरिएको छ ।’

यसअघि कांग्रेसले तनहुँका नेता गोविन्दराज जोशी र चितवनका दिनेश कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको थियो ।

कांग्रेसको यो निर्णयले उप–निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई राहत मिलेको छ । कांग्रेसका उम्मेदवारहरूले जित्ने सम्भावना निकै बढेर गएको छ ।

Published : Wednesday, 2023 April 19, 8:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया