अराजक बालेनलाई औकातमा बसेर काम गर्न सरकारद्वारा चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अभिव्यक्ति र पछिल्ला हर्कतप्रति सरकारले चिन्ता जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं महानगरका प्रमुख शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । सरकारले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएको जनाएको छ । प्रमुख शाहलाई आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न सरकारले सचेत गराउने निर्णय गरेको हो ।

शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सरकारले आग्रह गरेको छ ।

पत्रकारहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताएकी छिन् ।

शर्माले नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा मन्त्रिपरिषदमा छलफल भएको बताएकी छिन् । सरकारले प्रमुख शाहको अभिव्यक्ति राम्रो छैन भन्नेकुरामा छलफल गरेको छ ।

नीतिगत रुपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको शर्माले उल्लेख गरेकी छिन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालमा स्टाटस लेखेर सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहर नउठाउने निर्णय गरेको जनाएका थिए । शाहको सो स्टाटसपछि तीन स्थानबाट फोहर उठेको छैन ।

प्रमुख शाहले गरेको विद्रोहबाट सरकार रिसाएको छ । मन्त्रिपरिषदले प्रमुख शाहलाई सरकारको सदासयतालाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका छ ।

बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषदबाट स्वीकृत गरिएको प्रवक्ता शर्माले बताएकी छिन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

Published : Tuesday, 2023 April 11, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया