फोनको घण्टी बजेपछि रोकियो कांग्रेसका चार मन्त्रीहरूको शपथ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री पदको शपथ लिने नेताहरूको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाउने अन्तिम तयारी गरेका थिए ।

शुक्रबार बिहान सभापति देउवाले मन्त्रीहरूको नाम पठाउन नेता डा.शेखर कोइरालासँग सम्पर्क गरेर नाम मागेका थिए । डा.कोइरालाले पनि दुई जना नेताहरूको नाम पठाउने तयारी गरेका थिए ।

त्यसबीचमा डा.कोइरालाको फोनको घण्टी बज्यो । महामन्त्री गगनकुमार थापाले डा.कोइरालालाई फोन गरेका थिए । थापाले डा.कोइरालालाई आफ्नो गुटबाट मन्त्रीमा सहभागी हुने दुई जना सांसदहरूको नाम तत्काल नपठाउन ठूलो दवाव दिएको उच्च स्रोतले जनाएको छ ।

महामन्त्री थापाको दवावपछि नेता डा.कोइरालाले मन्त्री बन्ने तयारीमा बसेका पार्टी उप–सभापति समेत रहेका सांसद धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूको नाम धुम्बाराहीलाई दिएनन् ।

डा.कोइरालाबाट मन्त्री बन्ने सांसदहरूको नाम आउन ढिला गरेपछि एक जना पदाधिकारीलाई नेता डा.कोइरालासँग सम्पर्क गर्न भनेका थिए । त्यसपछि डा.कोइरालाले आफ्नो समूहले तत्काल मन्त्रीको नाम पठाउन नसक्ने असमर्थताको जवाफ निकै शालिन रुपमा दिएको स्रोतको भनाइ छ ।

महामन्त्री थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मन्त्रीको नाम नपठाउन दवाव दिएका थिए । महामन्त्री थापाले आफ्नो गुटलाई ३ मन्त्रालय दिनुपर्ने अन्यथा बहिस्कार गर्ने चेतावनी दिएका थिए । नभन्दै महामन्त्री थापाको दवावमा चार मन्त्रीहरूको शपथ हुन सकेन ।

राष्ट्रपति निर्वाचनमा एक भएको कांग्रेस मन्त्री बन्ने कुरामा आएर विभाजित भएको छ । महामन्त्री थापा र शर्माका कारण कांग्रेसभित्र बबण्डर भएको छ ।

सभापति देउवाले कांग्रेसले पाएको ८ मन्त्रालयमा दुई मन्त्रालय नेता डा.कोइरालासँग कुराकानी गरेर दिएका थिए । डा.कोइरालाले सकारात्मक सन्देश दिन दुई मन्त्रालयमा चित्त बुझाएर सभापति देउवालाई सहयोग गरेका थिए ।

डा.कोइरालाले आफ्नो गुटभित्र छलफल गरेर उप–सभापति धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई पठाउने निर्णय पनि गराएका थिए । त्यो निर्णयमा महामन्त्रीद्वय थापा र शर्माले पनि सहमति जनाएका थिए । अन्तिममा आएर महामन्त्री थापा र शर्माले डा.कोइरालालाई दवाव दिएर जनजातीका तर्फबाट मन्त्री हुन लागेका गुरुङ र लिम्बूलाई सोकेर सहमतिको राजनीतिमा अवरोध गरेको आरोप छ ।

महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा आफू मन्त्री नबन्ने बताए पनि भित्री कुरा अर्कै थियो । थापाले अर्थ मन्त्रीको जिम्मेवारी लिएर जान चाहेका थिए । थापाले अर्थ मन्त्री पाउने सम्भावना नै थिएन ।

त्यसपछि थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा परराष्ट्र मन्त्रालयमा दाबी गरेको उनी निकटकै गुटका एक नेताको भनाइ छ । अहिले पनि थापा स्वास्थ्य वा परराष्ट्र मन्त्री बन्ने लबिङमा लागेको स्रोतको दाबी गरिएको छ ।

महामन्त्रीद्वय थापा र शर्मालाई उचाल्नेमा उप-सभापति पूर्णबहादुर खड्का पनि हुन् । खड्काले शुक्रबार बिहानै थापा र शर्मालाई फोन गरेर उचालेको आरोप छ ।

महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा असहमति जनाएका थिए । त्यो कुरा उनीहरूले सार्वजनिक रुपमा भनिसकेका छन् । कांग्रेसभित्र महामन्त्रीद्वय थापा र शर्मा गठबन्धन विरोधी भनेर परिचित छन् । गठबन्धन विरोधीहरू अहिले आएर मन्त्री बन्न तछाडमछाड गरेका छन् ।

हुन त महामन्त्री शर्माले केही दिन अगाडि ट्वीट गरेर राष्ट्रपतिमा शेरबहादुर देउवा, प्रधानमन्त्रीमा रामचन्द्र पौडेल र कार्यबाहक सभापतिमा पूर्णबहादुर खड्काको नाम प्रस्ताव गरेका थिए । शर्माले देउवालाई सभापतिबाट हटाएर खड्कालाई सभापति बनाएर जान खोजेका थिए । योजना असफल भएपछि शर्माले थापासँग मिलेर सभापति देउवालाई असहयोगको प्रयाश गरिरहेका छन् ।

Published : Saturday, 2023 April 1, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया