जस्तै सभापति उस्तै चेलाहरू, काण्डमा लामिछानेलाई श्रेष्ठ-थापाले उछिने, घोटालाको तयारी

काठमाडौं । पूर्व अमेरिकन नागरिक रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) एकपछि अर्को विवादमा फस्दै आएको छ ।

लामिछाने नै नागरिकता र राहदानी कीर्ते काण्डमा पर्दा सभापतिदेखि सांसद पद नै खारेज भयो । उनी अहिले पार्टीको सभापति भनेछन् । डराएर बसेका लामिछाने चुपचाप छन् । गलत काम गरेपछि लामिछानेले सार्वजनिक कार्यक्रममा जथाभावी बोल्न डराइरहेका छन् ।

रास्वपाका केन्द्रीय सदस्यहरू पनि विवादमा तानिदै आएका छन् । कोही सशस्त्र प्रहरी बल नेपालको ठेक्का विवाद परेका छन् । कोही अमेरिका बसेर नेपाल र अमेरिकामा रहेका व्यवसायीहरूलाई ठगी गर्दै आइरहेको रहस्य खुलेको छ ।

सशस्त्र प्रहरी बलले ३५ करोड रुपियाँ बराबरका ‘स्नो पार्का ज्याकेट’ र ‘स्नो स्लीपीङ ब्याग’सहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा रास्वपाका केन्द्रीय सदस्य विष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको रहस्य खुलेको हो ।

आफूलाई विष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ पेशाले गार्मेन्ट ब्यवसायी हुन् । घुस नखाने र आफ्नो स्वार्थका लागि काम नगर्ने वचनवद्धता प्रकट गरेका लामिछाने उप–प्रधान तथा गृहमन्त्री हुँदा हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको सहकार्यमा सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको समेत खुलेको छ ।

सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको स्वार्थ अनुकूल आर्थिक प्रशासनका प्रमुख एसएसपी होम ज्ञवालीले श्रेष्ठको कम्पनीले पेश गरेको नमूनासँग मात्र मिल्ने गरी स्पेसिफिकेसन राखेको स्रोतले जनाएको छ ।

सभापति लामिछाने गृहमन्त्री भएकै समयमा आईजीपी अर्यालसँग भएको सहमतिअनुसार माघ १९ गते हिमाली आइटम स्नो ज्याके, स्नो बुट, स्नो स्लीपीङ ब्यागको बोलपत्र सूचना निकालिएको थियो ।

अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरे पनि निकासा भएको छैन । २ महिना पुग्न लागिसक्दा पनि उक्त टेण्डर खोलिएको छैन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सफ्टवेयरमा समस्या आएका कारण टेण्डर खोल्ने मिति पछि सार्दै आएको छ । सुरुमा चैत ५ गते खोल्ने भनिएको टेण्डर, चैत ९ गते सारिएको थियो । चैत ९ गते समेत टेण्डर खोलिएन । श्रेष्ठले सशस्त्रको बन्दोबस्तीका सामानको टेण्डरमा आफूले भाग नलिएको बताउने गरेका छन् ।

उता, रास्वपाका अर्का केन्द्रीय सदस्य मोहन थापा ठगी धन्दामा मुछिएका छन् । अमेरिका निवासी थापा ठगी धन्दामा संलग्न रहँदै आएको रहस्य खुलेको हो ।

अमेरिका बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको घर बैना गराईदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपिया ठगी गरेको खुलेको छ ।

थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले सभापति लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएको पीडित एक व्यवसायीले बताएका छन् ।

रास्वपाको नाममा पैसा उठाएका थापाले पीडितहरूलाई उल्टै धम्की दिने गरेको व्यवसायीहरूको गुनासो छ । अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरूलाई लाखौं रकम ठगी गर्दै आएका थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीलाई आफूले नै लगेको भन्दै पीडितहरूलाई उल्टै धम्क्याउँदै आएको पनि खुलेको छ ।

थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेको खुलेको छ । लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवामा चलखेल गरेको सार्वजनिक भएको थियो । उनले आफूलाई अमेरिकाको ठूलो व्यवासायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरूसँग रकम असुल्दै आएको खुलेको छ ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको स्रोतको भनाइ छ । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचय पत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा सन् २००२ अक्टोबरमा पक्राउ परेर थापालाई जेल सजाय भएको थियो । आरोपहरूका बारेमा प्रतिक्रिया लिन श्रेष्ठ र थापासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Wednesday, 2023 March 29, 7:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया