‘नेकपा’ फुटाएर गठबन्धन बनाउने सूत्रधार नेताद्वारा प्रचण्ड–उपेन्द्रसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग अलग अलग भेटवार्ता गरेका छन् ।

शुक्रबार पूर्व गृहमन्त्री समेत रहेका नेता खाणले दाहाल र यादवसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको खाणको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावशालीरूपमा सञ्चालन गर्ने विषयमा कुराकानी भएको छ ।

‘प्रधानमन्त्री प्रचण्डज्यूसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो’, नेता खाणले भनेका छन्, ‘संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकूलका सरकार विस्तार गर्नबारेमा कुराकानी भएको छ ।’

गठबन्धनलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका नेता खाणसँग प्रधानमन्त्री दाहालले सत्ता भागबण्डाबारे पनि कुराकानी गरेका छन् ।

जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पनि केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको खाणले जानकारी दिएका छन् ।

२०७९ मा भएको प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका खाण प्रतिनिधि सभा निर्वाचन पश्चात पनि लेनदेनमा कम्प्रोमाइज गरेर भए पनि गठबन्धन टुटाउन नहुुने पक्षमा थिए ।

२०७४ सालको निर्वाचनपछि बनेको नेकपा नेतृत्वको सरकारलाई फुटाएर त्यसबेला गठबन्धन निर्माण गर्ने सूत्रधारका रुपपा खाण रहेका थिए ।

केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकूल सरकार बनाउने कसरत भएका बेला नेता खाणले प्रधानमन्त्री दाहाल र जसपाका अध्यक्ष यादवलाई भेट गरेका हुन् ।

नेता खाणले कांग्रेसका सभापति खाणलाई बलियो देख्न चाहन्छन् । आफू पराजित हुँदा पनि सभापति देउवालाई निरन्तर साथ दिने नेतामा खाण पर्छन् ।

Published : Friday, 2023 March 24, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया