मन्त्री बन्न कांग्रेसमा मापदण्ड, क–कसको नाम चर्चामा ?

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बनाउन मापदण्ड बनाउने भएको छ ।

काठमाडौंमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले मन्त्रीका लागि मापदण्ड बनाएर जानुपर्ने सुझाव दिएका हुन् । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले भने, ‘मन्त्रीका लागि मापदण्ड बनाएर जाने विषयमा नेताज्यूहरूको सुझाव थियो । तर, मापदण्ड के–कसरी बनाउने सभापति शेरबहादुर देउवाज्यूले आन्तरिक गृहकार्य गर्नुहुनेछ ।’

नेताहरूको सुझाव र सल्लाहलाई सभापति देउवाले सकारात्मक रुपमा लिएका छन् ।

अवसर नपाएका, सरकारमा गएर काम गर्ने क्षमता भएका युवा सांसदहरूलाई अवसर दिनुपर्ने लगायतका मपदण्ड बनाउन कांग्रेसलाई सुझाव आएका छन् । अवसर पाएर पनि आईजीपी काण्डमा सभापति शेरबहादुर देउवासँग टसल लिएर गृहमन्त्री पदबाट राजीनामा दिएका नेता विमलेन्द्र निधि जस्ता पात्रहरूका बारेमा पनि कांग्रेसभित्र गम्भीर बहस भएको छ ।

भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेछन् । विश्वासको मत लिएपछि दुई दिनभित्रै कांग्रेस सरकारमा सहभागी हुनेछ ।

सरकारमा कुन नेताको नेतृत्वमा जानेभन्ने विषयमा पनि कांग्रेसभित्र निर्णय भइसकेको छैन । मन्त्रीहरूका बारेमा पनि टुंगो लागेको छैन ।

स्रोतका अनुसार कांग्रेसबाट सरकारको नेतृत्व गरेर जाने विषयमा उप–सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाको नाम चर्चामा छ । तर, उनीहरू सरकारको नेतृत्व गरेर मन्त्री खान जान्छन् वा जाँदैनन् औपचारिक रुपमा केही भनेका छैनन् ।

पूर्वमहामन्त्री डा.शशांक कोइराला, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा.प्रकाशशरण महत, सह–महामन्त्री किशोरसिंह राठौर, नेता मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, रमेश लेखक, एनपी साउद, सरिता प्रसाइँ, बद्री पाण्डे, सीता गुरुङ, विनोदकुमार चौधरी लगायतको नाम चर्चामा छ ।

झिनो स्वरमा नेतृ आरज राणाको नाम पनि आएको छ । तर, राणा अहिले मन्त्री बन्न अनिच्छुक रहेको नेताहरूले बताएका छन् । राणाले मन्त्रीमा भन्दा पनि पार्टीभित्र जिम्मेवारी लिएर जाने विषयमा रुचि देखाएको चर्चा छ ।

कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडेर हिँडेका सांसदहरू पनि मन्त्री बन्ने लाइनमा छन् । पौडेल राष्ट्रपति बनेपछि ती नेताहरू शीतल निवास धाउन थालेका छन् ।

Published : Sunday, 2023 March 19, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया