कांग्रेसबाट यी तीन नेतामध्ये एकजनाले सरकारमा नेतृत्व गर्ने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसका दोस्रो तहका तीन नेताहरूको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दोस्रो तहका तीन नेताहरूले नेतृत्व गरेर सरकारमा जाने सम्भावना रहेको बताए । नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालामध्ये एक जनाले नेतृत्व गर्ने सम्भावना रहेको नेता बस्नेतले बताए । तर, सभापति शेरबहादुर देउवाले यो विषयमा अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

बुधबार बिहान एउटा एफ.एम.रेडियोसँगको अन्तर्वार्तामा नेता बस्नेतले उप–सभापति पूर्णबहादुर खड्का सरकारमा मन्त्री खान नजाने भनिसकेको बताए ।

खड्काले उप–प्रधानसहित गृहमन्त्री पाएमा सरकारको नेतृत्व गरेर जाने चर्चा चलिरहेका बेला नेता बस्नेतले भने, ‘उप–सभापति पूर्णबहादुर खड्काज्यूले मन्त्री खान जान्न भन्नुभएको छ । यस्तो अवस्थामा प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा.शेखर कोइरालामध्येबाट एकजनाले नेतृत्व गरेर जाने सम्भावना हुन्छ ।’

उप–सभापति खड्काले पनि सामाजिक सञ्जालमा लेखेर मन्त्री खाने नजाने संकेत गरिसकेका छन् ।

नेता बस्नेतले कुन दलले कति मन्त्रालय लिने भन्ने भागबण्डा नभइसकेको बताएका छन । उनले भने, ‘मन्त्रालय शीर्ष नेताहरूले बसेर टुङ्गो लगाउनु हुन्छ ।’

गठबन्धनमा रहेका अधिकांश दलहरू सरकारमा जाने सम्भावना रहेको उनले बताएका छन् । नेता बस्नेतले उप–राष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

नेता बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत आगामी ५ गते लिने तयारी भइरहेको बताएका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर पुरानो गठबन्धन ब्यूँताउनमा आफ्नो पनि विशेष भूमिका रहेको नेता बस्नेतले बताएका छन् । उनले सभापति शेरबहादुर देउवासँगको समन्वय र निर्देशनमा माओवादीसँग शुरुको चरणमा कुरा गरेर वातावरण बनाएको बताएका छन् ।

प्रधानमन्त्रीले ५ गते विश्वासको मत लिएपछि ६ र ७ गतेभित्र मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको नेता बस्नेतले बताएका छन् ।

उप–राष्ट्रपतिमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहायप्रसाद यादवलाई समथर्न गर्ने निर्णय यसअघि भइसकेको नेता बस्नेतले बताएका छन् ।

Published : Wednesday, 2023 March 15, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया