सरकार र मन्त्रिपरिषद विस्तारबारे महामन्त्री थापाको के छ सुझाव ? प्रचण्डलाई राहत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगन थापाले छिटो मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्ने क्रममा थापाले काम गरेर देखाउन समय कम रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ । मन्त्रिपरिषद विस्तार चाँडो टुंग्याउनुस् किनकी, हामीसँग समय छैन ।’

‘मन्त्रिपरिषद विस्तारपछि सरकार काममा देखिनुपर्छ । गठबन्धन भन्यो, बैठक बस्यो । हेर्दाहेर्दै नागरिक थाकिसकेको हुन्छ’, उनले भने, ‘परिणाम कहिँ पनि केही देखिएको हुँदैन ।’

थापाले भने, ‘पाँच वर्षमा गठबन्धनको को प्रधानमन्त्री हुने नागरिकको आँखामा गौण हो । उसले हेर्ने सोंच्ने भनेकै प्रधानमन्त्री हुनुहुन्छ, प्रत्येक कुराको हिसाब दिनुपर्छ । यी सबै कुरा गर्न प्रधानमन्त्री तयार हो कि होइन ? प्रदेश र स्थानीय तहका सबै सरकारसँग काम गर्न तयार हो कि होइन ?’

उनले भने, ‘गठबन्धनको सरकार बनाएर हामी खुसी हुँदै गर्दा देशभरका नागरिक खुसी हुन्छन् भन्ने छैन । सरकार नै बनाउने हो भने त पहिले पनि हाम्रै गठबन्धनको सरकार थियो । व्यक्तिकै कुरा गर्ने हो भने पूर्व प्रधानमन्त्रीहरूकै क्लबबाट प्रधानमन्त्री हुनुहन्थ्यो ।’

‘गठबन्धनका लागि ८÷१० दल जति नै हुन् । अबको पाँच वर्षको अवधिमा डेलिभरीको काम गर्न सकेनौं भने त्यसको दण्ड सजाय भोग्न तयार छौं भनेर गठबन्धनका दलले नागरिकलाई भन्नुपर्छ’, उनले भनेका छन् ।

‘नागरिकलाई पाँच वर्षको विश्वास, भरोसा, आत्मविश्वास रहन्छ कि रहँदैन त्यहाँबाट गठबन्धनको यात्रा प्रारम्भ हुन्छ’, महामन्त्री थापाले भनेका छन् ।

‘प्रधानमन्त्री गठबन्धनको नेता हुने कि सरकारको नेता हुने प्रश्न हामी माथि छ’, थापाले भने, ‘प्रधानमन्त्री त सरकारको नेता हुनुपर्ने हो नि । विधिको शासन, नागरिकसँग गरेको वाचा, शक्ति सन्तुलनको सिद्धान्तको आधारमा सरकार चल्नुपर्छ ।’

उनले भने, ‘अहिलेको सरकारको प्रमुख पाटो अर्थतन्त्रको सुधार हो । अर्थतन्त्र सुधारका लागि मुख्य नेतृत्व तयार हुन्छ कि हुँदैन ? अर्थतन्त्र सुधारका लागि मूल रुपमा प्रधानमन्त्री नै तयार हुनुपर्छ ।’

‘प्रधानमन्त्रीका लागि मन्त्री र सांसदहरू सहयोगी रहेका हुन्छन् । राम्रो गरे सबैभन्दा बढी जस पाउने प्रधानमन्त्रीले हो, गलत गरे प्रश्न उठ्ने पनि प्रधानमन्त्रीमाथि नै हो’, थापाले भनेका छन् ।

‘अहिले स्रोत र साधनको अभाव छ । प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिले त्यो कुर्सीमा बस्नुअघि थाहा पाउनुपर्छ के अभाव छ ? समयको अभाव छ, स्रोतको अभाव छ’, उनले भनेका छन्, ‘नागरिकमा धैर्यताको ठूलो अभाव छ । ५ वर्ष भनिरहँदा प्रधानमन्त्रीले आफूसँग ५ महिनाको समय मात्रै छ भनेर काम गर्नुपर्छ ।’

उनले भने, ‘त्यो पाँच महिनाको अवधिमा सरकारले केही हुँदैछ भनी नागरिकलाई विश्वास दिलाउन सकेन भने संख्याले थेग्छ ? नागरिकलाई भरोसा दिन सकेन भने संविधानले दिएको संख्याको अधिकारले बचाउन सक्दैन ।’

थापाले भनेका छन्, ‘राष्ट्रपति, उप–राष्ट्रपतिको चुनावका कारणले समय छ भन्ने सुविधा हामीलाई छैन । राजनीतिक दलका हिसाबले हेर्दा त्यो सुविधा स्वभाविक होला ।’

‘दर्जनौं मन्त्रालय अहिले खाली छन् । किन ? हामीले समयको अभाव बुझ्न सकेका छैनौं’, उनले भने, ‘घडी टिकटिक गरिरहेको बुझ्न सकिरहेका छैनौं ।’

‘अरु तनाव हुँदै गर्दा पनि आजको दिनमा भारत र चीनको व्यापार सम्बन्ध यथावत छ’, उनले भने, ‘त्यही कुरा नेपालको आँखाबाट हेर्दा सबल र कमजोर पक्ष के हो भनी चिन्तन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो ।’

‘हामी उभिएको ठाउँ थाहा भए पो कुदाएर कहाँ पुर्‍याउने थाहा हुन्छ’, महामन्त्री थापाले भनेका छन् ।

‘सार्वजिनक वित्तको क्षेत्रमा मात्रै हेर्‍यौं भने २४/२५ वर्षपछि कमजोर अवस्थामा छौं’, थापाले भने, ‘विगतमा के हुँदै आएको थियो भने प्रधानमन्त्रीले सोंचे नसोंचे पनि खुत्रुके भरिने कार्य भइरहेको थियो ।’

उनले भने, ‘विप्रेषण, ढाँट थापेर, अरु प्रकृतिका करबाट खुत्रुकेमा पैसा जम्मा भइरहेको हुन्थ्यो । अहिले खुत्रुकेमा पैसा जम्मा हुने क्रम सोंचेभन्दा कम भएको छ । यो क्रम अझै बढ्ने देखिन्छ ।’

उनले भनेका छन्, ‘मैले थाहा पाएदेखि उद्योगी व्यवसायी बैंकको व्याजदर बढी भयो भनेर सडकमा देखेको पहिलो पटक हो । कर्जा पाउन गाह्रो छ । ऋण तिर्न नसकेको तथ्यांकहरू देख्न सक्छौं ।’

‘सार्वजनिक वित्त, निर्यात/आयात लगायत सबै क्षेत्र हेर्दा आर्थिक सूचकांक सुधारोन्मुख देखिन्न’, थापाले भने, ‘आर्थिक अवस्थाबाट नागरिक डराउने अवस्था बनाउनुभएन ।’

उनले भने, ‘प्रधानमन्त्री डराउनुपर्‍यो । प्रधानमन्त्री नडराए अवस्था बेहाल हुन्छ ।’

‘आयातमा केही वस्तु केही समय प्रतिवन्ध ग¥यौं । केही सकारात्मक पनि भयो । त्यो अवस्था त सधैं रहन्न’, उनले भने, ‘लघुवित्त, सहकारीमा कहाँ कहाँ समस्या छन्, अहिले नै काम गर्नुपर्‍यो नि !’

उनले भने, ‘बैंक मर्जरको नीति राष्ट्र बैंकले लियो । केही बैंक मर्जर पनि भए । त्यसले सकरात्मक प्रभाव पा¥यो कि पारेन ?’
‘अरु अरु काम गर्ने तर, आर्थिक विषय भएकाले कसैलाई जिम्मेवारी दिएका छौं भनेर प्रधानमन्त्रीले छुट पाउने अवस्था छैन’,

थापाले भनेका छन्, ‘स्वास्थ्य बीमाको व्यवस्था अहिले करिब करिब निष्प्रभावी हुँदै गएको छ । ईकोनोमी गभर्मेन्टको महत्वपूर्ण पार्ट स्वास्थ्य बीमा पर्दछ । यो कसले हेर्ने हो ?’

उनले भने, ‘नेपालले उत्पादनको क्षेत्रमा काम नै गर्न नसक्ने हो ? उत्पादन गर्न के सक्छौं र के सक्दैनौं ? उत्पादन के गर्ने र के नगर्नेको राष्ट्रिय नीति हुनुपर्छ । नलेज टेक्नोलोजीमा रोजगारी वृद्धि गर्नसक्छौं भने त्यसमा ध्यान किन नदिने ? पाँच वर्षको लागि आएको सरकारले यसलाई कसरी हेर्छ ?’

‘हाम्रो विद्यार्थी स्कुल गएपनि सिक्ने क्रम घटेको छ’, थापाले भने, ‘पास र फेलको आँकडा मात्रै निकालेर हामी सन्तुष्ट हुने अवस्था छैन ।’

Published : Monday, 2023 March 13, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया