कांग्रेसका विनोद चौधरीले जनताका लागि सरकारसँग अस्पतालकाे योजना माग गरेर अपराध गरेकै हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरीले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सेवा दिन विभिन्न विकासका कार्यक्रमहरू अगाडि सारेका छन् ।
नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीले समय हुनेवित्तिकै जनताको सेवामा केन्द्रित हुने गरेका छन् । सांसद चौधरीले आफ्नो क्षेत्रमा दीर्घकालीन र अल्पकालीन विकासका कार्यक्रमहरूको सूची नै बनाएर यसअघि सार्वजनिक गरिसकेका छन् ।
चौधरीले नवलपरासी १ का जनताको मागअनुसार बहुवर्षीय कार्यक्रमअन्तर्गत बर्दघाट नगरपालिकाको चौपत्तामा विशेष सेवा अस्पताल निर्माणका लागि ५० करोड बजेट केन्द्र सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका छन् ।
चौधरीले अस्पताललाई आफ्नो क्षेत्रको गौरवको आयोजना बनाएका छन् । स्थानीय जनताका लागि सुविधा सम्पन्न रिफरल अस्पताल निर्माण हुनुपर्ने आवश्यक्ता र माग जनताबाट भएपछि बजेटका लागि स्वास्थ्य मन्त्रालयसँग उनले अनुरोध गरेका हुन् ।
चौधरीले अस्पतालका लागि माग गरेको बजेट आफ्नो घरको लागि होइन । जनताको लागि हो ।
सरकारसँग बजेट माग गरेर जनताको सेवा गर्ने र सुविधा वृद्धि गर्ने अधिकार सांसद चौधरीलाई छ । सांसद चौधरी अर्बपति हुन् वा व्यवसायी हुन् भन्दैमा सरकारसँग बजट माग गर्नै नहुने त होइन होला ?!
‘चौधरी फाउण्डेशन’मार्फत सांसद चौधरीले अस्पताल र अन्य विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । आफ्नो व्यावसायिक ग्रुपबाट मुनाफाको निश्चित रकम उनले नवलपरासी मात्रै होइन आवश्यक परेका बेला देशका हरेक कुनामा सहयोग गर्दै आएका छन् । त्यो कुरा किन भुल्ने ?
ठूला आयोजनाहरूको लागि सरकारले नै काम अगाडि बढाउनुपर्छ । बजेट ल्याउने तर, काम नगर्ने प्रवृत्ति छ । चौधरीले आफ्नो फाउण्डेशनमार्फत कार्यक्रमहरू गरिरहेका छन् । भ्रमको खेती गर्ने, गलत कुराहरूको टिकाटिप्पणहरूलाई काम गरेर खराब कुरालाई परास्त गर्नुपर्नेछ ।
यस्तै हो भने सांसद चौधरीले सरकारसँग कुनै पनि योजना माग्नु भएन । सबै विकासका कार्यक्रम आफैले कमाइ गरेर गर्नुपर्ने हो ? चौधरीलाई मात्रै यो नियम लागू गर्नुपर्ने हो ?
नवलपरासी १ का जनताको मतले चौधरीले जितेर आएका हुन् । कसैको दया वा मायाले बनाएको ‘टीके’ सांसद होइनन् । नेपाली कांग्रेसले टिकट दिएपछि चुनावी मैदानमा पूर्वमन्त्री हृदय त्रिपाठीलाई हराएर संसद छिरेका हुन् । चौधरीले हराएका त्रिपाठी कुनै चानचुने नेता होइनन् ।
केही दिन अगाडि मात्रै सांसद चौधरीले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुस्ता गाउँपालिकाको पकलीहवा स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालन र स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
पत्रमा सांसद चौधरीले भनेका छन्, ‘नवलपरासी क्षेत्र नं. १ मा गौरव आयोजनाका रुपमा पहिचान भएको छ । सम्बन्धित पालिकाहरू, जिल्ला समन्वय समिति तथा स्थानीय सम्बन्धित निकायका प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रममा समेत पहिचान गरिएको निम्न कार्यक्रमहरू त्यस क्षेत्रका सर्वसाधारण जनताको आर्थिक तथा सामाजिक उन्नतिका लागि महत्वपूर्ण आयोजनाका रुपमा पहिल्याइएका हुन् ।’
‘यी आयोजनाहरूलाई त्यस मन्त्रालयले प्राथमिकतामा राखी आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षीय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गरि यस क्षेत्रका जनताको समृद्धिको आकांक्षा र प्रयासलाई सघाउ पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरेको छु’, सांसद चौधरीले पत्रमा लेखेका छन् ।
सांसद चौधरीले अस्पताल निर्माणका लागि सरकारबाट हुने सहयोगप्रति सो क्षेत्रको सम्बन्धित पालिका, जनताले सदैब स्मरण गर्ने पनि जनाएका छन् । चाैधरीले आफ्नो तजबिजमा अस्पतालको योजना मागेका होइनन् । जनताको माग भएपछि मन्त्रालयमा दीर्घकालीन योजना मागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक सूचना अधिकारी माधवकुमार श्रेष्ठले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा विकासको आयोजनाहरू माग गरेर निवेदन दिन सक्ने बताएका छन् । श्रेष्ठले भने, ‘सांसदहरूले स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयसँग योजना र बजेट माग गर्न सक्नु हुन्छ । सांसदहरूलाई निवेदन दिने अधिकार छ ।’
‘सांसद विनोदकुमार चौधरीले आगामी नयाँ बजेटमा अस्पतालको माग गरेर निवेदन दिनुभएको छ’, सहयक सूचना अधिकारी श्रेष्ठले भने, ‘उहाँले दीर्घकालीन योजना माग गर्नुभएको हो ।’
संसद सचिवालयका प्रवक्ता तथा सह–सचिव एकराम गिरीले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रको लागि योजना र कार्यक्रमहरू सम्बन्धित मन्त्रालय वा राष्ट्रिय योजना आयोगमार्फत माग गर्न सक्ने बताए । उनले भने, ‘मन्त्रालयहरूमा सांसदहरूले योजना माग गर्न सक्नु हुन्छ । राष्ट्रिय योजना आयोगमा पनि माग गर्न सक्नु हुन्छ ।’
चौधरीले नवलपरासीको समग्र विकासका लागि १५ वटा गौरवका आयोजना यसअघि नै प्रस्ताव गरिसकेका छन् । उनले निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरू प्रस्ताव गरेका हुन् ।
पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि गहन अध्ययन गरेर गौरवका आयोजनाहरू छनोट गरिएको छ । सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाका ४ वटा वडा गरी कुल ३४ वटा वडाहरू पर्दछन् ।
आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरूसँग निरन्तर छलफल गरेर क्षेत्र र जिल्लाका प्राथमिकताहरू निर्धारण गरेका हुन् । ती आयोजनाहरूमा संघ र प्रदेश सरकारमार्फत बजेट सुनिश्चितता गराई कार्यान्वयन गरिनेछ ।
प्राथमिकतामा परेका आयोजनाहरू कार्यान्वयनका लागि आफू सक्रिय रहने प्रतिवद्धता चौधरीले जनाएका छन् । बर्दघाट नगरपालिकासँग अन्य स्थानीय तहहरूलाई जोड्नेगरी चक्रपथ निर्माण गर्ने, केरा खेती प्रबर्द्धन गर्ने, पशुपालनमा किसानलाई आकर्षण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास केन्द्र स्थापना गर्ने, कृषि बजार केन्द्र स्थापना गर्ने लगायतका आयोजनाका प्रस्ताव उनले अगाडि सारिसकेका छन् ।
नवलपरासी क्षेत्र नम्बर १ मा बुद्ध सर्किट निर्माण गर्ने, सीमावर्ती पर्यटन प्रबर्द्धन गर्ने, मत्स्यपालन क्षेत्रको रुपमा विकास गर्ने, गण्डक नहर सफाइ अभियान सञ्चालन गर्ने, उच्च शिक्षा केन्द्रको रुपमा विकास गर्ने, प्रकृतिमैत्री पर्वतीय पर्यटनको विकास गर्ने, औद्योगिक ग्राम बनाउने, एकीकृत विशेष सेवा अस्पताल निर्माण गर्ने, खेलकुद विकासका लागि बहुउद्देश्यीय खेलकुद रंगशाला निर्माण गर्ने र सरसफाइ तथा हरियाली प्रबर्द्धन अभियान सञ्चालन गर्ने आयोजना उनले अघि सारेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया