उप-राष्ट्रपति निर्वाचनमा मनोनयन दर्ता गर्ने दिनमै एमालेलाई ठूलो झट्का

काठमाडौं । कुनै पनि राजनीतिक दलले साथ नदिएपछि एक्लिएको एमालेले उप–राष्ट्रपतिको उम्मेदवारी दिँदा आफ्नै दलका समर्थक र प्रस्तावक राखेर मनोनयन दर्ता गराएको छ ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यले मनोनयन दर्ता गराएकी छिन् । शाक्यको प्रस्तावक र समर्थक एमालेका सांसदहरू छन् । एमालेले अरु दलका सांसद समर्थक र प्रस्तावक पाएको छैन ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली आफै शाक्यको प्रस्तावकमा बसेका छन् । शाक्यको प्रस्तावकहरूमा सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् ।

शाक्यको समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि ५/५ जना संघीय तथा प्रदेश सांसदहरू प्रस्ताव र समर्थक बस्नुपर्ने कानूनी प्रावधान छ ।

उप–राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य बाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री हुन् । सत्ता गठबन्धनबाट जनमत पार्टीले ममता झालाई उप–राष्ट्रपतिमा मनोनयन दर्ता गराएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने जनाएकाे छ ।

शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । चैत ३ गते उप–राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम छ ।

Published : Saturday, 2023 March 11, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया