रामचन्द्र पौडेलको आज भाग्य खुल्ने पक्क जस्तै, मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बढेर गएको छ ।

बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान शुरु हुनेछ । मतदान ३ बजेसम्म हुनेछ । बेलुका सात बजेसम्म मत परिणामको अन्तिम नतिजा आउनेछ । संसद भवनभित्रकै हलमा मतगणना हुनेछ ।

कांग्रेसका वरिष्ठ नेता पौडेललाई ९ दलले समर्थन गरिसकेका छन् । एमालेका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई एमालेको मात्रै समर्थन छ ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरूले निर्वाचनमा भाग लिनेछन् ।

संघीय सांसदहरूका लागि रातो र प्रदेश सभा सदस्यहरूका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरूको नामसहित फोटो पनि राखिएको छ ।

मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ ।

राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ ।

दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।

Published : Thursday, 2023 March 9, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया