राष्ट्रपति निर्वाचनमा फरार सांसदहरूमाथि निगरानी, सुरक्षा तयारीबारे के भन्छन् एसएसपी कार्की ?

काठमाडौं । बिहीबार हुने राष्ट्रपति निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट ९ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका अलावा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

मतदान स्थल नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले मतदानदेखि मतगणनासम्म सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

‘मतदान अगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरूको बसोबासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिनेगरी प्रबन्ध गरेका छौं’, एसएसपी कार्कीले भने, ‘गोप्य मतदान हुने भएकाले फोटो खिच्न पाइँदैन । त्यसकारण त्यो लान पाइनेछैन ।’

‘मतदान गरिसकेपछि पनि हलमा बसिरहन खोजे बाहिर निकालिनेछ’, उनले भनेका छन् ।

एसएसपी कार्कीले प्रहरीको फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिने बताएका छन् ।

कर्तव्य ज्यान मुद्दाका एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सन्दर्भमा प्रहरीले निगरानी गर्ने भएको छ ।

‘त्यहाँ फरार सूचीमा रहेका मतदाताहरूलाई निगरानी गरिनेछ’, कार्कीले भने, ‘त्यस्ता व्यक्तिलाई जो जहाँ भेटिन्छ त्यहीबाट पक्राउ गरेर कानूनी दायरामा ल्याइनेछ ।’

मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने उनले बताएका छन् ।

मतदानपछि मतपेटिका सुरक्षा, मतपेटिका ओसार पसारको बेलाको सुरक्षा, मतगणना हुने स्थलको सुरक्षा मिलाइएको उनले बताए ।

‘मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न दिइनेछैन’, उनले भने, ‘मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको छ ।’

एसएसपी कार्कीले भने, ‘आवश्यक जनशक्ति खटाइएको छ । काठमाडौं जिल्लाबाट सिनियर पुलिस अधिकृतको कमाण्डमा लाइन व्यवस्थापनदेखि लिएर चारैतिरको प्रवेशद्वारहरूको सुरक्षासमेत मिलाइएको छ ।’

एसएसपी कार्कीकाअनुसार मतदानमा बाधा अवरोध हुन नदिन बानेश्वरको बीआईसीसी प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।

मतदातालाई भित्र प्रवेश गराउने, लाइन व्यवस्थापन र बाहिर ल्याउने कुरामा प्रहरीले सहजीकरण गर्ने उनले बताएका छन् ।

‘निर्वाचनबाट जितेर प्रमाणपत्र प्राप्त गर्नुहुने उम्मेदवारलाई तत्क्षणदेखि नै पदअनुसारको सुरक्षा व्यवस्था मिलाइनेछ’, उनले भने ।

Published : Wednesday, 2023 March 8, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया