दुई महिनाभित्रै सत्ता र राष्ट्रपति फुत्किएपछि बरबराउन थाल्यो एमाले

काठमाडौं । एमाले अध्यक्षका अध्यक्ष खड्गप्रसाद ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरूको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका छन् ।

शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रममा बोल्दै ओलीले मुस्ताङमा बौद्ध कलेज बनाउने योजनाको विरोध गरेका हुन् । उनले बौद्ध कलेज बनाउने कुरा राष्ट्रियतामाथिको प्रहार भएको बताएका छन् ।

‘मुस्ताङमा विश्वविद्यालय(मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो’, उनले भने, ‘मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो ।’

ओलीले भने, ‘२०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधीनतालाई अस्वीकार गरेको हो ।’

ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताएका छन् । योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको बताएका छन् । ओलीले त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाएका छन् ।

‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो’, ओलीले भने, ‘अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरू मात्रै बस्छन् त्यहाँ ।’

उनले उक्त योजना धेरै खतरनाक कुरा भएको बताएका छन् । ‘यसको सन्दर्भमा हामी लड्नुपर्छ र विरोध गर्नुपर्छ’, उनले भनेका छन् ।

ओलीले मालिक खुसी बनाउनका लागि नेपालीको भान्सामा विषादीयुक्त तरकारी खुवाउने काम भइरहेको बताएका छन् । ओलीले भने, ‘हाम्रा कमन कुराहरू हुन, जुन हामीले उठाउनुपर्छ । त्यसको सन्दर्भमा हामी लड्नुपर्छ । अहिले सरकारमा बस्नेहरूलाई कुनै लाजश्रम छैन ।’

‘हाम्रा भान्सा भान्सामा बस्नेहरूलाई विषादीयुक्त चिज आउन दिने, खुवाउन दिने । मालिक खुशी हुन्छन् कि हुँदैनन् भन्ने हो’, ओलीले भनेका छन् । भारतलाई खुसी बनाउन तरकारीहरू नाकामा जाँचबुझ नगर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको ओलीले आरोप लगाएका छन् ।

‘भारतलाई खुसी बनाउन तरकारीहरू नाकामा जाँचबुझ नगर्ने मालिक खुशी हुन्छन् भने नेपाली मरेर के भो ? नेपालीका भान्सामा विषादी आएर के भयो भन्ने तवरले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारीको कुनै जाँचबुझ गर्न पाइने छैन भनेको छ’, ओलीले भनेका छन् ।

‘हामीसँग संयन्त्र नहुनु बेग्लै कुरा हो, भएको त जाँच्न पाउन प¥यो नि !’, उनले भने, ‘तर नपाइने ? किनभने छिमेकी खुशी पार्ने ? अरु खुशी पार्ने ? बाहिरका शक्तिलाई खुसी पार्ने, हाम्रा भान्सामा विषदीयुक्त खानेकुरा खुवाउने ?’ ओलीले एमालेमाथि प्रहार भइरहेको पनि बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषदको तेस्रो बैठकमा बोल्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको बताएका छन् । उनले बुद्धिजीवी समाजले भ्रमजालबाट मुक्त बनाउनुपर्ने बताए ।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीवीहरूले भनेको उल्लेख गर्दै निवार्चन परिणामले गतल साबित गरेको बताएका छन् ।

‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरू लागि परेका छन्’, ओलीले भने, ‘उनीहरूलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो । जनतालाई तर्साउने, धम्याउने कामहरू भइरहेका छन्, सचेतना जगाउनुस् ।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताएका छन् । दुई महिनाभित्रै मुखबाट सत्ता फुत्किएपछि एमालेका नेताहरू बरबराउन थालेका छन् । ओलीसहितका नेताहरूले सत्ता फुत्किएपछि विदेशीलाई दोष दिन थालेका छन् । आफ्ना प्रतिस्पर्धी दल र नेताहरूविरुद्ध आगो ओकल्न थालेका छन् ।

Published : Saturday, 2023 March 4, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया