अख्तियार र मन्त्रीको ध्यान भड्काउन प्रदीपको नयाँ प्रोपोगाण्डा, थाई र गुणबारे कुरो यस्तो हो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी आफूविरुद्ध लागेका आरोपहरूबाट बच्न विभिन्न खालका प्रोपोगाण्डाहरू गर्न थालेका छन् ।

आफूभन्दा सिनियरलाई उछिनेर घुमाउरो बाटोबाट महानिर्देशक बनेर आएपछि अधिकारीको कार्यकालमा जनताले धेरै खराब कुराहरूको नोटिस गरेका छन् ।

उनका उच्च तहका कर्मचारीहरू रंगेहात घुस काण्डमा पक्राउ परेका छन् । उनीहरूविरुद्ध मुद्धा चलिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका ९ वटा पसलहरूमा वाणिज्य विभागले छापामारेर कारबाही समेत गरेको छ । ती पसलहरूलाई कारबाही गर्ने जिम्मेवारी अधिकारीको थियो । तर, अधिकारीले ती पसलहरूलाई संरक्षण गरेर राखेका थिए ।

अधिकारीले त्यसको जिम्मेवारी लिएका छैनन् । बरु ती कर्तुतहरूबाट बच्न र कारबाही गर्ने निकायको ध्यान भड्काउन अधिकारीले विभिन्न प्रोपोगण्डाहरू गरिरहेका छन् ।

अधिकारीविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा धेरै उजुरीहरू परेका छन् । अधिकारीले ती फाइलहरूको जवाफ दिने हो भने ६ महिना लाग्न सक्छ । त्यति धेरै उजुरी अधिकारीविरुद्ध परेका छन् । केही उजुरीको कपी रिपब्लिका दैनिकसँग पनि छन् ।

पछिल्लो समय महानिर्देशक अधिकारीले थाई स्माईलसँगको सम्बन्ध बिग्रिने गरेर हर्कत गरिरहेका छन् । थाई स्माईलले नेपाललाई करोडौंको व्यापार गरिदिएको छ । नेपाल र थाईल्याण्डबीच राम्रो कुटनैतिक सम्बन्ध छ ।

४० वर्ष अगाडि थाई एयरको लिखित आग्रहमा प्राधिकरणले ग्राउण्ड ह्याडेलिङ दिएको थियो । थाई एयरकै आग्रहमा उसको भगिनी संगठन थाई स्माईल एयरलाईन्सलाई ग्राउण्ड ह्याण्डलिङ दिइएको थियो । यो सम्झौता विगत ४० वर्षदेखि दुई दुई वर्षमा नवीकरण हुने गरेको छ । त्यही नवीकरण भएको विषयलाई महानिर्देशक अधिकारीले पहाड बनाएर बबण्डर मच्चाएको आरोप कर्मचारीहरूको छ ।

तर, अधिकारीले नेपाल र थाईल्याण्डको सम्बन्ध बिगार्ने गरेर थाई स्माईल एयरलाईन्सलको ग्राउण्ड ह्याण्डलिङ खोसिदिएका छन् । थाई स्माईलले विगत २०/२५ वर्षदेखि नेपालमा उडान र ग्राउड सेल्फ ह्याण्डलिङको काम गर्दै आएको थियो । तत्कालीन थाई एयरलाईन्सको ठाउँमा थाई स्माईल एयरलाईन्स आएको हो ।

अधिकारी अहिले प्राधिकरणको महानिर्देशक छन् । थाई स्माईल प्रकरणमा छानविन गर्ने अधिकार छ । तर, उनले छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुभन्दा पनि विभिन्न नौटंकी गरिरहेका छन् । थाई स्माईल प्रकरणमा अरुलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्न खोजेको आरोप कर्मचारीहरूले लगाएका छन् ।

महानिर्देशक अधिकारीले गोप्य दस्तावेजहरू लिक गरेर तत्कालीन महानिर्देशक राजकुमार क्षेत्री, महाप्रबन्धक भोलाप्रसाद गुरागाईं, उप–महानिर्देशक हशंराज पाण्डे, विमानस्थल संचालन विभागका प्रेमनाथ ठाकुरलाई दोष दिन खोजेका छन् । जबकि थाई एयरलाईन्ससँगको कारोबार २०७९ देखि भएको छ ।

त्योभन्दा अगाडि सन् २०१७ मा श्यामकिशोर साहले बक्यौता रकम माग गरेका छन् । शुरुदेखि दिँदै आएको ग्राउण्ड हेण्डलिङको अनुमतिलाई निरन्तरता दिएको विषयलाई महानिर्देशक अधिकारीले प्रेमनाथ ठाकुरमाथि बज्रपात हुने गरेर गतिविधि गरेपछि कर्मचारीहरू शसंकित बनेका छन् ।

अधिकारीले प्रेमनाथ ठाकुर थाई स्माईल प्रकरणमा मुर्गा बनाइसकेका छन् । अधिकारीका कारण अरु को–को मुर्गा बन्ने हुन् थाहा छैन ।

महानिर्देशक अधिकारीले गुण एयरलाईन्सको उडान रोकेर अर्को हर्कत गरेका छन् । गुणले गल्ती गरेको छभने उसलाई कारबाही हुनुपर्छ । तर, गुणले आफूलाई सुधार गर्छुभन्दा हतारहतार अधिकारीले किन कारबाही गरे ? प्रश्न उठेको छ । गुणले आफ्ना साना जहाजलाई बिक्री गरेर ठूला जहाज ल्याउने तयारी गरेको थियो । गुणका ठूला जहाज आउनेवित्तिकै त्यसको प्रत्यक्ष असर यती एयर र बुद्ध एयरलाई पर्ने थियो । महानिर्देशक अधिकारीले गुणका कारण व्यापारमा यतीलाई नोक्सानी नहोस् भन्ने चाहेको आरोप कर्मचारीहरूको छ ।

श्रम शोषण के गुण एयरलाईन्सले मात्रै गरेको छ ? महानिर्देशक अधिकारीलाई यो विषयमा राम्रोसँग जानकारी छ । उनले अरु एयरलाईन्सलाई कारबाही गरेनन् । बरु गुणलाई छिटो ठेगान लगाइहाले ।

महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको भिडियो र तस्वीर बाहिर आउँदा पनि टाउको लुकाएर बसेका छन् । चुइक्कसम्म बोलेका छैनन् । बरु जहाजमा चरा ठोक्किएको होइन भनेर पोखराका कर्मचारीहरूलाई बोल्न लगाएका छन् । पोखरा विमानस्थलमा दिउँसोमा त विभिन्न खालका अड्चन आइरहेका बेला अधिकारीले मार्चदेखि रात्रिकालीन उठान गराउँछु भनेर लागेका छन् ।

पोखरामा यती एयरको एटीआर जहाज दुर्घटना भएको घटना सेलाउन नपाउँदै पोखरा विमानस्थलबारे विभिन्न खालका समाचार आउँदा यात्रुहरू तनावमा छन् ।

उता, सौर्य एयरलाईन्सको जहाज काठमाडौंबाट विराटनगर उडान भर्ने बेला रनवेमा पुगेर समस्या भएपछि फर्काउनुपरेको स्रोतले जनाएको छ । यसको जिम्मेवारी कसले लिन्छ ? महानिर्देशक अधिकारीसँग जवाफ छ ?

महानिर्देशक अधिकारीसँग आरोपहरूका बारेमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Friday, 2023 February 24, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया