कांग्रेसलाई हुर्रे ! राष्ट्रपतिमा आठ दलको सर्वसम्मत निर्णय

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी बनाउने निर्णय भएको छ ।

शुक्रबार बालुवाटारमा बसेको ८ राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेको हो ।

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय भएको बताएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र विपक्षका ८ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।

कांग्रेस उप–सभापति पूर्णबहादुर खड्काले पनि कांग्रेसको राष्ट्रपतिको उम्मेदवारलाई विजयी बनाउन निर्णय भएको बताए ।

८ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ ।

राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् ।

विपक्षमा रहेका नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

Published : Friday, 2023 February 24, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया