कांग्रेसको पक्षमा देखिएको पासा माधवले पल्टाउने अवस्थामा पुग्यो, बीचमा चीन प्रवेश
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन संगले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई भेट गरे लगत्तै राष्ट्रपति निर्वाचनमा नयाँ हलचल आएको छ ।
चिनियाँ राजदूत छेन संगले बुधबार नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेट गरेका थिए । भेटमा राजदूत छेनले कम्युनिस्टहरूबीचको एकता र गठबन्धनमा दवाव दिएको बुझिएको छ ।
राजदूत छेनले यसअघि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई बालकोट र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेट गरिसकेका छन् ।
ती भेटहरूमा राजदूत छेनले बेइजिइको सन्देश सुनाएका छन् । उनले नेपालका कम्युनिस्टहरू मिल्नुपर्ने वा गठबन्धन गरेर जान दवाव दिएको बुझिएको छ ।
चीनले नेपालको आन्तरिक राजनीतिमा पछिल्लो समय अलिक धेरै चासो दिन थालेको छ । चीनको दवावपछि कम्युनिस्ट गठबन्धनलाई बचाउन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरू लागेका छन् ।
उप–प्रधान एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री श्रेष्ठले पुरानो गठबन्धन ब्यूँताउन नहुने अडानमा छन् । श्रेष्ठले पुरानो गठबन्धन ब्यूँताउने विषयमा कुनै सहमति नभएको बताएका छन् ।
एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसले राष्ट्रपति पद लैजाने सम्भावना बढेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अगाडि सारेका छन् ।
ओलीले नेपाललाई राष्ट्रपति बनाएर एमालेमा एकीकृत समाजवादीलाई बिलय गराउने पक्षमा छन् । त्यसपछि एमाले सबैभन्दा ठूलो दल बन्नेछ । ओलीले आफू अनुकूलको सरकार बनाउन चाहेका छन् ।
ओलीले बरु प्रधानमन्त्रीमा दाहाललाई ५ वर्ष निरन्तरता दिने पक्षमा जान सक्ने पनि चर्चा हुन थालेको छ ।
ओलीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई उप–राष्ट्रपति दिने पक्षमा लचकता देखाएको चर्चा छ ।
उपेन्द्रले उप–राष्ट्रपतिमा जसपाका संसदीय दलका नेता रामसहाय यादवलाई पठाएर आफू उप–निर्वाचनमार्फत प्रतिनिधि सभामा छिर्न खोजेका छन् ।
बिहीबार राति अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापालाई संयुक्त रुपमा भेटेर राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेको बुझिएको छ ।
कांग्रेसका नेताहरूलाई भेटेपछि अध्यक्ष नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोटेश्वरमा बोलाएर परामर्श गरेका छन् ।
प्रधानमन्त्री दाहालले पनि नेपाललाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन चाहेको चर्चा छ ।
चीन, प्रचण्ड, ओली, उपेन्द्रलगायतको प्रस्ताव र दवावपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल राष्ट्रपतिमा उम्मेदवार बन्न इच्छुक भएका छन् । नेपालले आफूलाई समर्थन गर्न देउवासहितका नेताहरूसँग भेट गरिरहेका छन् ।
ओलीले रणनैतिक चाल चलेपछि कांग्रेसले माओवादीको समर्थनमा राष्ट्रपति पाउने सम्भावना निकै कम भएको छ । यस्तो अवस्थामा कांग्रेसले कस्तो रणनीति अगाडि सार्छ हेर्न बाँकी छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया