प्रचण्डद्वारा दुई शीर्ष नेतासँग वार्ता, राष्ट्रपति र उप–राष्ट्रपतिमा दाबी

काठमाडौं । राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दलसँग परामर्श गरेका छन् ।

बिहीबार सिंहदरबारमा दाहालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् । दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको बैठकमा राष्ट्रपति र उप–राष्ट्रपति पदमा कसरी उम्मेदवार बनाउने भन्नेबारेमा छलफल भएको हो ।

माओवादी, एकीकृत समाजवादी र जसपाले शुक्रबार राष्ट्रपति र उप–राष्ट्रपतिका विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेका छन् । कांग्रेससँगको छलफलपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा अन्तिम निर्णय गर्ने भएका छन् ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषयमा निर्धारण हुने बताएका छन् ।

एकीकृत समाजवादीका उप–महासचिव प्रकाश ज्वालाले दलहरूबीच छलफल भए पनि ठोस सहमति भइनसकेको बताएका छन् ।

नेता ज्वालाले राष्ट्रिय सहमतिको रुपमा अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसलाई अस्वीकार नगरिने बताएका छन् । उनले पुरानो गठबन्धनमा ब्यूँत्याउने विषयमा ठोस छलफल नभएको बताए ।

बिहीबार दिउँसो प्रधानमन्त्री दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

एकीकृत समाजवादीले राष्ट्रपतिका लागि दाबी गरेको छ । जसपाले उप–राष्ट्रपतिका लागि दाबी गरिरहेको छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाएको छ । कांग्रेसले आफूलाई साथ दिन दलहरूसँग परामर्श गरिरहेको छ ।

कांग्रेस पुरानो गठबन्धन ब्यूँताउने पक्षमा छ । कांग्रेसको प्रस्तावमा दलहरू सकारात्मक छन् ।

Published : Thursday, 2023 February 23, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया