दुर्घटनाको रिपोर्ट नआउँदै अधिकारीले मन्त्रीलाई यतीको जहाज चढाए, आफू भीआईपी सिटमा बसे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यती एयरलाइन्सलाई चेख्याउने विभिन्न गतिविधिहरू गर्दै आएका छन् ।

प्राधिकरणको महानिर्देशक पदमा बसेर सरकारी सेवासुविधा लिएर अधिकारीले यती एयरलाइन्सको विजनेश बढाउन तथा प्रचार प्रसारमा खुब इमान्दारिताका साथ मेहनत गरेर लागेका छन् ।

पोखरामा माघ १ गते यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको थियो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनको प्रतिवेदन नआउँदै महानिर्देशक अधिकारीले केही दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई यती एयरको एटीआर जहाजमा चढाएर काठमाडौं–विराटनगरको यात्रा गराएका छन् । यती एयरलाइन्समा मन्त्री किराँतीलाई चढाएको तस्वीरहरू पनि अधिकारीले सरकारी अकाउन्टको समाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । ती तस्वीरहरूमा यती एयरलाइन्सको लोगो देखिने गरेर तस्वीर खिचिएका छन् ।

यती एयरलाइन्सप्रति महानिर्देशक अधिकारीको रुचि निकै बढेर गएको छ । नेपालमा धेरै एयरलाइन्सहरू छन् । अधिकारीको रुचि यती एयरलाइन्समा हुनको रहस्यको खोजी हुन थालेको छ ।

हुन त आरोप लगाउनेहरूले यती एयरलाइन्समा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पनि सेयर छ भन्ने गर्छन् । यती समूहलाई तत्कालीन समयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले निकै संरक्षण गरेका थिए । राज्यका सम्पत्ति र जग्गाहरू कौडीको भाउमा ओलीले दिएर सबैलाई चकित बनाएका थिए ।

अहिले आएर ओलीको बाटो प्राधिकरणका महानिर्देशक अधिकारीले पछ्याइरहेका छन् । पोखरामा भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनाको जिम्मेवारी लिएर अधिकारीले महानिर्देशक पदबाट राजीनामा दिनुपर्ने थियो । नभए सरकारले अधिकारीलाई निलम्बन गरेर छानविन र अनुसन्धान गर्नुपर्ने थियो । तर, अधिकारीले राजीनामा दिएनन् । बरु आफूलाई बचाउन ठूलो कसरत गरे ।

अधिकारीले यती एयरलाइन्सलाई बचाउन र संरक्षण गर्न मन्त्रीलाई चाढाएर यात्रा गराउनेदेखि विभिन्नखालका सहुलियतहरू दिइरहेको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीले केही दिन अगाडि काठमाडौंबाट विराटनगरसम्म मन्त्रीलाई यती एयरलाइन्सको जहाजमा राखेर यात्रा गराएका छन् । यात्रा गराउँदा आफू भीआईपी सिटमा बसेर महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई अगाडिको सिटमा लगेर राखिदिएका छन् । अधिकारीले भीआईपी सिटमा बसेको तस्वीर खिचेर सार्वजनिक पनि गरेका छन् । मन्त्रीलाई सामान्य यात्रु बस्ने स्थानमा लगेर राखेका छन् ।

जहाजमा यात्रा गर्दा प्रधानमन्त्री, मन्त्री, भीभीआईपी वा भीआईपीलाई जहाजको ढोका नजिकको सिटमा राख्ने गरिन्छ । किन भने यात्रु र भीआईपीलाई समस्या नहोस् भनेर त्यसो गरिएको हो । तर, मन्त्रीलाई अगाडि राखेर महानिर्देशक अधिकारीले ‘मन्त्रीभन्दा म ठूलो हुँ र भीआईपी म नै हुँ’ भन्ने सन्देश दिन भीआईपी बस्ने सिटमा आफू बसेर त्यो हदसम्मको निच कार्य गरेको रिपब्लिका दैनिकलाई प्राप्त मेलमा उल्लेख छ ।

प्राधिकरणका एकजना उच्च तहका कर्मचारीले भने, ‘म भएको भए पोखरा दुर्घटनाको रिपोर्ट नआउँदासम्म त्यो यती एयरलाइन्सको जहाजमा चढ्ने थिइन् । रिपोर्ट नआउँदै मन्त्री जस्तो व्यक्ति यतीको जहाजमा चढ्नु हुँदैन थियो । आफू भीआईपी सिटमा बसेर अधिकारीले मन्त्रीलाई साधारण यात्रु बस्ने सिटमा बसाल्नु उचित होइन । पदीय गरिमाको अपमान भएको छ ।’
प्राधिकरणका महानिर्देशक अधिकारीले यती एयरलाइन्सलाई धेरै माया गर्नुको अर्थ आर्थिक लाभ वा अन्य त्यस्तै खालका लाभ लिएका कारण हुन सक्ने चर्चा प्राधिकरणभित्र छ ।

यती एयरलाइन्ससँग निकट हुनुभन्दा अगाडि महानिर्देशक अधिकारी बुद्ध एयरलाइन्ससँग निकट थिए । बुद्धसँग उनको अहिले आएर सम्बन्ध बिग्रिएको छ । बुद्धलाई छाडेर यतीको प्रचार प्रसारमा अधिकारी लागेका छन् । हिमालयन एयरलाइन्सलाई पनि अधिकारीले निकै च्याप्ने गरेका छन् ।

महानिर्देशक अधिकारीले यती एयरलाइन्समा थुप्रै युवती र एयर होस्टेजहरूलाई जागिर पनि खुवाएको चर्चा प्राधिकरणभित्र छ । राम्रो सम्बन्ध भएका बेला अधिकारीले बुद्ध एयरमा पनि युवती र एयर होस्टेजहरूलाई जागिर खुवाएको आरोप छ ।

Published : Saturday, 2023 February 18, 7:51 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया