एमालेलाई छाडेर माओवादीले कांग्रेससँग बनायो गठबन्धन, सिंहदरबारभित्रै कांग्रेसको शानदार जित

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेर निर्वाचनमा प्रतिस्पर्धा गरेपछि एमाले पराजित भएको छ ।

बुधबार भएको संघीय संसद सचिवालय कर्मचारी युनियनको निर्वाचनमा कांग्रेसले अध्यक्षसहितका पदमा जित हात पारेको छ ।

कांग्रेसलाई माओवादीले साथ दिएपछि अध्यक्षमा गोविन्द बेल्वासे विजयी भएका छन् । बेल्बासेले ८६ मत पाएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी एमालेका समर्थक विनोद न्यौपाने पराजित भएका छन् । न्यौपानेले ६० मत प्राप्त गरेका छन् ।

अध्यक्षमा विष्णु खड्का स्वतन्त्र रुप उम्मेदवार बनेका थिए । खड्काले जम्मा ३५ मत प्राप्त गरेका छन् ।

कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । निर्वाचनमा कूल मतदाता २०२ थिए । त्यसमध्ये १८४ मत खसेको थियो ।

उपाध्यक्षमा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी भएकी छिन् । सचिवमा माओवादी समर्थित सरस्वती रिजाल निर्वाचित भएकी छिन् ।

सह–सचिवमा कांग्रेस समर्थित अर्जुन पौडेल विजयी भएका छन् । कोषाध्यक्षमा कांग्रेस–माओवादीका साझा उम्मेदवार रामकृष्ण भेटवाल निर्वाचित भएका छन् ।

सदस्यहरूमा कांग्रेस समर्थक सदन राई र माओवादी समर्थित समर्थित सकुन्तला भट्ट निर्वाचित भएका छन् ।

अन्य सदस्यहरूमा एमाले समर्थित विनुका शेर्पा, समिर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ निर्वाचित भएका छन् ।

एमाले र माओवादी मिलेर सरकार बनाएका छन् । एमालेसँगको गठबन्धन तोड्ने तयारीमा रहेको भनेर माओवादीलाई आरोप लागेका बेला संघीय संसदको कर्मचारी युनियनको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन बनेको छ । कांग्रेस र माओवादी मिलेर एमालेलाई युनियनमा हराइदिएका छन् ।

विगतमा संसद सचिवालय कांग्रेसको पकडमा थियो । पछिल्लो केही वर्षयता एमालेले संसद सचिवालयमा आफ्ना कार्यकर्ता भर्ती गरेको छ ।

Published : Thursday, 2023 February 16, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया