ठाकुरसहित सबैको ‘जरा’ प्रदीप अधिकारी, १० लाख काण्डमा ठूलो माछा निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डय प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।

शुक्रबार प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले पत्र थमाएर ठाकुरलाई महाप्रबन्धक पदबाट निलम्बन गरेको जनाएका छन् ।

गैरकानूनी लाभ लिने उद्देश्यले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग कुराकानी गरेको भन्दै ठाकुरलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको पत्रमा भनिएको छ, ‘तपाईले थाई स्माइल एयरलाइन्सका प्रनिधिबिाट गैर कानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकोले नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम १३.७ को उपनियम (२) को खण्ड (ख) बमोजिम गठित उप–समितिले नियम १३.५ को उपनियम (१) को खण्ड (छ) अनुसारको कसूरमा जाँचबुझ गर्नुपर्ने भएको हुँदा तपाईलाई सोही नियमावलीको नियम १३.८ बमोजिम उप–समितिको मिति २०७९/१०/२७ को निर्णयानुसार निलम्बन गरिएको व्यहोरा अनुरोध छ ।

निलम्बनमा परेका महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग १० लाख कमिशन माग गरेको आरोप छ ।

यद्यपि, ठाकुरले सबै आरोप गलत रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूले कुनै पनि गैर कानूनी अबैध रकम असुल नगरेको दाबी गरेका छन् । उनले आफूलाई निलम्बन गरेको विषयमा न्यायका लागि अदालत जाने चेतावनी दिएका छन् ।

पत्रमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हस्ताक्षर गरेका छैनन् । महाप्रबन्धक ठाकुरलाई प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले पत्र पठाएर निलम्बन गरेका छन् ।

प्राधिकरणको महानिर्देशक बनेर प्रदीप अधिकारी आएपछि भ्रष्टाचार, अनियमितता, घुसखोरीलगायत सबै हर्कत भइरहेका छन् ।

साउन १७ गते काठमाडौंबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप–सचिव प्रमोद नेपाल २२ लाख खुसको पैसासहित पक्राउ परेका थिए । उनी पोखराको प्यारागलाइडिङको लाइसेन्स प्रकरणमा घुस मागेपछि रंगेहात पक्राउ परेका थिए ।

केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखा गौचर काठमाडौंका व्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतको १ लाख ५० हजार तथा स्रोत नखुलेको ८ लाख रुपियाँसहित नियन्त्रणमा लिएको थियो । उनले पास वितरणमा घुस लिएका थिए । उनको कार्यकक्षबाट महँगा रक्सी पनि बरामद भएका थिए ।

त्यसको केही समय नबित्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरले घर रिसवतको गैर कानूनी रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्राधिकरणको महानिर्देशकमा अधिकारी आउनेवित्तिकै धमाधम भ्रष्टाचार काण्डमा उच्च कर्मचारीहरू पक्राउ परेका छन् ।

अधिकारीविरुद्ध अख्तियारमा पनि ठूलो संख्यामा उजुरी परेको छ । महानिर्देशक अधिकारीविरुद्धको उजुरीलाई अनुसन्धान गर्ने जिम्मेवारी पाएका आयुक्त जयबहादुर चन्दले हेरेका छैनन् । आयुक्त चन्द र महानिर्देशक अधिकारीबीच हिमचिम छ ।

सोही कारण चन्दले अधिकारीलाई बचाउन अनुसन्धान नै राम्रोसँग नगरेको आरोप छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गरेर अनुसन्धान गर्न सकेको छैन । अधिकारीले दाँइ गरेर बसेका छन् । अधिकारीका कर्तुतहरू एकपछि अर्को गरेर बाहिर आइरहेका छन् ।

महानिर्देशक अधिकारीलाई कारबाही गर्नुपर्ने माग जोडदार रुपमा उठेको छ । तर, अधिकारीलाई कारबाही गर्ने हिम्मत कसैको छैन । महानिर्देशक अधिकारीलाई रकम असुल्ने काम प्रमोद नेपाल, पूर्णप्रसाद चुडाल र प्रेमनाथ ठाकुरले नै गर्ने गरेको आरोप छ ।

Published : Friday, 2023 February 10, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया