प्रहरीको बढुवा र सुरुवा विवादबारेमा आइजीपीले पहिलो पटक दिए प्रतिक्रिया
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कार्यसम्पादन गर्न नसक्ने प्रहरी अधिकारीमाथि कारबाही गरेको भन्दै संगठनभित्र धेरै सुधारहरू भएको बताएका छन् ।
प्रहरी महानिरीक्षकमा बढुवा भएपछि प्रहरी हेडक्वाटरमा बिहीबार पत्रकार सम्मेलन गरेका खनालले सरुवा, बढुवादेखि बन्दोवस्तीका सामानमा खरिदसम्म ध्यान दिएको बताए । ‘सव–इनिस्पेक्टरदेखि सरुवा शुरु गरे’, उनले भने, ‘धेरैले मलाई झमेला गरेको भने । जसले जे भने पनि हिम्मत गरेर रोकिएको कामको शुरुवात भएको छ ।’
तलदेखि माथिल्लो पदसम्मको सरुवा र बढुवा भएको प्रसङ्ग उल्लेख गर्दै आइजीपी खनालले भने, ‘बढुवा र सरुवा भएकाहरूले खुसी व्यक्त गरेका छन् ।’
एसपीको बढुवा र सरुवामा भएको विवादका विषयमा सोधिएको प्रश्नको जवाफमा महानिरीक्षक खनालले भने, ‘को हो एक नम्बरको एसपी ? कसलाई एक नम्बरमा राखेर बढुवा र सरुवा गर्नुपर्ने हो ?’
एसपीहरूको बढुवा र सुरुवामा मिडियामा आएको असन्तुष्टिका बारेमा आफू जानकार रहेको बताएका खनालले भने, ‘बढुवा भएका एसपीहरूले मलाई भेटेर न्याय पाएँ भनेर खुसी व्यक्ति गर्नुभएको छ ।’
महानिरीक्षक खनालले राम्रो काम गर्न नसकेकै कारण हेटौँडाका प्रहरी प्रमुखलाई फिर्ता बोलाएको बताए । लागूऔषधसहितका विभिन्न आपराधमा मुछिएका एसपीलाई जिल्लाको प्रमुख बनाएर पठाएको प्रसङ्गमा खनालले भने, ‘मौका दिनुपर्छ । विगतका कुरालाई मात्रै ध्यान दिनु हुँदैन ।’
३३ किलो सुनकाण्ड र सुनम शाक्य हत्याकाण्डका विषयमा आफूले अनुसन्धानमा सहयोग गरेको उनले बताए । ‘सरकारले बनाएको छानविन समितिलाई मैले सहयोग गरेको छु’, उनले भने, ‘त्यो समितिलाई हामीले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन । दोषीलाई कारबाही हुन्छ ।’
महानिरीक्षक खनालले चारवटा वाटर क्यानन् खरिद गर्ने निर्णय भएको बताए । प्रदर्शन र भीड नियन्त्रण गर्न कठिनाइ भएका कारण वाटर क्यानन् खरिद गर्न लागिएको उनले बताए । प्रहरीसँग एउटा मात्रै वाटर क्यानन् छ ।
प्रहरीभित्रका गोप्य कुरा बाहिर लगेकोमा असन्तुष्ट देखिएका महानिरीक्षक खनालले भने, ‘संगठनभित्रको गोप्य कुरा कसले बाहिर लैजाने गरेको छ ? मलाई भन्नुस् उहाँलाई जवाफ दिन तयार छु । पीसीसीको बैठक बस्न सकेको छैन भनेर कुरा गर्नु सरकासर झुठ हो ।’
प्रदेश २ ले महिला मात्रै प्रहरीमा भर्ना गर्ने भनेर आएका समाचारका विषयमा सोधिएको प्रश्नको जवाफमा महानिरीक्षक खनालले ऐनअनुसार हुने बताए । ‘नेपाल सरकारले बनाउने ऐनअनुसार प्रहरी चल्छ’, उनले भने, ‘ऐन नआउँदासम्म कसले के भन्छ त्यसको पछाडि लाग्नु आवश्यक छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत