लामिछानेद्वारा गृह मिलाइदिन ओलीसँग आग्रह, प्रचण्डविरुद्ध बालकोटमा उजुरी, टेकु र कालिकास्थानमा डरले थरथर

काठमाडौं । उप–प्रधानसहित गृहमन्त्री नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गुहार मागेका छन् ।

मंगलबार भक्तपुरको बालकोटस्थित निवासमा पुगेर सभापति लामिछानेले एमालेका अध्यक्ष ओलीसँग उप–प्रधानसहित गृह मन्त्रालय माग गरेका हुन् । स्रोतका अनुसार ओलीले लामिछानेलाई उप–प्रधानसहित गृह मन्त्रालय दिलाउन पहल गर्ने आश्वासन दिएका छन् ।

कीर्ते काण्डमा सांसदसहितका सबै पद गुमाएका लामिछानेलाई एमालेका अध्यक्ष ओलीले बोकेका छन् । लामिछानेलाई उप–प्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले लामिछानेका विवाद संवैधानिक र कानूनी रहेको भन्दै उप–प्रधानमन्त्रीसहित गृह मन्त्रालय दिन मानेका छैनन् ।

सभापति लामिछानेले गृह मन्त्रालय माग गरेर सरकार छाड्नेसम्मको धम्की दिँदै आएका छन् । लामिछानेको धम्कीबाट प्रधानमन्त्री दाहाल डराएका छैनन् ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख (एसएसपी) दानबहादुर कार्कीले नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले जाहेरी दर्ता नगरिएको बताएका छन् ।

सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रहरीमा राहदानी ऐनअनुसार कारवाही हुनुपर्ने मागसहितको जाहेरी छभने अध्यागमन विभागमा अध्यागमन ऐनअनुसार कारवाही हुनुपर्ने माग छ ।

राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

Published : Tuesday, 2023 January 31, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया