कांग्रेसका रामहरिले नाङ्गेझार बनाएपछि गृहमन्त्री लामिछानेको पसिना छुट्यो, कालोनिलो बने

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रेस विज्ञप्ति जारी गरेर अपराधी पक्राउ गर्ने उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको हर्कतको विरोध गरेका छन् ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमै उभिएर समय लिएर बोल्दै खतिवडाले अपराधीलाई पक्राउ गर्न गृहमन्त्रीलाई प्रहरी प्रशासनले नटेरेको हो कि भनेर प्रश्न गरेका छन् ।

कांग्रेसका सांसद खतिवडाले भने, ‘गृह मन्त्रालयबाट एउटा पत्र सार्वजनिक भएको सूचना आयो ।’

‘नेपालको ईतिहाँसमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्पराको सरुवात भएको छ’, उनले भने, ‘गृह मन्त्रालयको पदबहाल गर्नुभएका धेरै मन्त्रीहरू आज यो संसदमा हुनुहुन्छ ।’

‘गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय जस्तो सम्वेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ? बडो चिन्ताको विषय बनेको छ’, खतिवडाले भने, ‘गृहमन्त्री बालपनको, केटाकेटीपनाको त्याग गर्नुभएन । के गृहमन्त्रीलाई देशको प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सिर्जना भएको हो ? के अझै पनि जनतालाई फेरि ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ?’

उनले भने, ‘सुत्न गएका कर्मचारीलाई राति बोलाएर विज्ञप्ति निकालौं भनेर यस्तो परम्पराको विकास भयो भने अपराधी पक्राउ गर्न सकिन्छ ? यो परम्परा कहाँ जाँदै छ र भोलि मुलुक कहाँ जाने हो ? हामीलाई चिन्ताको विषय बनेको छ ।’

‘गृह मन्त्रालयको मन्त्रीको आदेश प्रहरी प्रशासनले नटेर्ने । यदि गृह मन्त्रालय यसै गरी सूचना सार्वजनिक गर्ने हो भने प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने, सशस्त्र प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने । अन्य सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो ? चिन्ताको विषय छ’, खतिवडाले भनेका छन् ।

उनले भने, ‘मान्छे पक्राउ गर्न नसक्ने । अनि सूचना जारी गर्ने ? मलाई थाहा छ, संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा गृहमन्त्रीले १७०औँ नम्बरमा हस्ताक्षर गर्नुभएको छ ।’

‘उहाँले विज्ञप्ति जारी गरेको, अपराधी भनेको र चिनिएको, उच्च अदालतले पक्राउ गर्न आदेश गरेको मान्छेले सँगै बसेर १९४औँ स्थानमा सहि गर्नुभएको छ । मैले १८६औँ नम्बरमा सहि गरेको छु । के यहाँ माननीयहरूले अपराधीलाई चिनाइदिने हो कि गृहमन्त्रीले यो सदनभित्र हत्कडी लिएर आउनुस् भनेका छौँ ? अपराधी पक्राउ गर्नुस् भन्दा प्रेस विज्ञप्ति दिने परम्परा एकदम गलत भयो । यो पत्र जनतालाई अर्को नाटकको रुपमा प्रदर्शन गरिँदैछ । यसमा हाम्रो घोर आपत्ति छ’, खतिवडाले भनेका छन् ।

‘जनतालाई मुर्ख बनाउने काम नगरियोस् । संसदलाई मुर्ख बनाउने काम नगरियोस्’, उनले भने, ‘यो अपराध अनुसन्धान आचारसंहिताको विरुद्धमा भयो अहिलेको पत्र । मिडियामा आफूलाई हौवाका भरमा प्रस्तुत काम मन्त्रीहरूले पनि नगरुन् । सस्तो लोकप्रियता नखोजुन् ।’

उनले भने, ‘यो संसदमा धेरै कुराहरूको छानविनको जरुरी छ । कसैको नागरिकताको बारेमा छानविन होला । कसैको पासपोर्टको बारेमा छानविन होला । यो विषयमा गृहमन्त्रीको जवाफ चाहियो । रुलिङको आवश्यक्ता देख्छु ।’

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सशस्त्र प्रहरीका घाइते सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाट थुतेर धानखेतमा लतारेर हत्या गरेको अभियोगमा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न विज्ञप्ति जारी गरेर प्रहरीलाई निर्देशन दिएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने कार्य उचित नरहेको र गोपनीयता भङ्ग भएको कांग्रेसले उल्लेख गरेको छ ।

कांग्रेसका सांसद खतिवडाले अपराधी पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गरेकोमा विरोध गरिरहेका बेला उप–प्रधान तथा गृहमन्त्री लामिछानेले असहज मानेका थिए । उनी बेलाबेला चलमल गरिरहेका थिए ।

Published : Saturday, 2023 January 21, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया