जहाज दुर्घटना हुनु अगाडि काठमाडौंमा ट्यांकी फुल, अधिकारीसँग बयान लिन माग
काठमाडौं । दुर्घटना जाँच आयोगले पोखरामा दुर्घटना भएको जहाजले काठमाडौंमा फ्युल भरेर गएको विषयलाई जबरजस्त रुपमा अनुसन्धान गर्नुपर्ने माग उठेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूले नाम उल्लेख नगर्ने सर्तमा यती एयरलाइन्सको जहाजले काठमाडौंबाट फ्युल भरेर पोखरा उडान भरेको दाबी गरेका छन् । जहाज दुर्घटना हुँदा फ्युलका कारण आगलागी भएको दाबी कर्मचारीहरूको छ । आगो नलागेको भए धेरै यात्रुहरू बाँच्न सक्ने थिएकी भन्ने पनि भनाइ छ ।
कर्मचारीहरूले फ्युल भरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिन माग गरेका छन् ।
प्राधिकरणका कर्मचारीहरूले कम्तिमा ४५ दिनका लागि महानिर्देशक अधिकारीलाई निलम्बन गरेर सरकारले आयोगलाई काम गर्न दिनुपर्ने माग राखेका छन् ।
सरकारले पोखरामा ७२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनाको विस्तृत जाँचबुझ गरी कारण पहिचान गर्न आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुझासहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न आयोगलाई निर्देशन दिएको छ ।
यती एयरलाइन्सले जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्युल भर्न सहज नभएका कारण काठमाडौंमा फ्युल भरेको चर्चा छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा फ्युल भर्न पुरानो विमानस्थलबाट नेपाल आयल निगमको ट्यांकर आउनुपर्छ । फ्युल पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा बोकेर ल्याउँदा एयरलाइन्सहरूलाई महँगो पर्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्युल भर्ने व्यवस्था नै नगरेर प्राधिकरणका महानिर्देशक अधिकारीले हतार हतारमा उद्घाटन गराए । त्यसको साइड इफेक्टहरू देखिन थालिकेका छन् । अधिकारीले चीनको दवावमा पोखरा विमानस्थल उद्घाटन गराएको आरोप पनि छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रमुख तत्कालीन समयमा अधिकारी नै थिए । अधिकारीलाई फ्युलको समस्या रिट्ठेपानी डाँडाको समस्या, फोहरका कारण चरा तथा गिद्ध उड्ने र अबरोध हुन कुरा सबै जानकारी थियो । जहाज दुर्घटनापछि सोमबार अर्को जहाजमा पोखरा विमानस्थलमा चरा ठोक्किएको एक कर्मचारीले बताएका छन् ।
आयोगले यी सबै कुराको बयान महानिर्देशक अधिकारीसँग मसिनो गरेर लिनुपर्ने माग कर्मचारीहरूको छ ।
पोखरामा जहाज दुर्घटना भएपछि महानिर्देशक अधिकारी अहिलेसम्म पोखरा गएका छैनन् । ७२ जनाको ज्यान जाँदा पनि अधिकारीले आफूलाई जिम्मेवार ठानेका छैनन् । जहाज दुर्घटनाबारे संसदमा सांसदहरूले बबाल गरिसकेका छन् । जहाज दुर्घटनाबारे बोल्ने विज्ञ र सर्वसाधारणलाई नबोल्न धम्की दिएर प्रेस विज्ञप्ति नै जारी गरेका छन् ।
संसदमा आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थिए । त्यस बेला मन्त्री किराँतीसँग निकै डराएका महानिर्देशक अधिकारी निरिह देखिएको एक कर्मचारीले रिपब्लिका दैनिकलाई मेलमा पठाएको कुराहरूमा उल्लेख छन् ।
मन्त्री किराँतीका अगाडि महानिर्देशक अधिकारी अराईभल र्याम्पमा भएको घटनाबारे बोलेनन् । बोले पनि सानो स्वरमा जवाफ दिएका थिए । अधिकारीको हाउभाउ भने मन्त्री किराँतीलाई ‘डोमिनेट’ गर्न खोजेको जस्तो देखिएको मेलमा उल्लेख छ ।
मन्त्री किराँतीको अगाडि अगाडि हिँड्न थालेपछि पीएसओले अधिकारीलाई तानेर पछाडि आउन निर्देशन नै दिनु परेको थियो । महानिर्देशक अधिकारीले माओवादी नेताहरूको चाकडीमा आफूलाई केन्द्रित बनाउन थालेको आरोप छ । अधिकारीले गंगा दाहाललाई हातमा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकट रहेर आफ्ना कर्तुतबाट बच्ने प्रयासमा लागेको चर्चा प्राधिकरणमा छ ।
मन्त्री किराँतीले अहिलेसम्म लप्पनछप्पन गरेको सनिएको छैन । किराँतीलाई रिझाउन, सम्झाउन र मिलाउन नसकिने हो कि भनेर महानिर्देशक अधिकारीले राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई हातमा लिएर स्वार्थ पूरा गर्ने तयारीमा रहेको मेलमा उल्लेख छ ।
माओवादी नेताहरूलाई फकाएर बाराको निजगढ विमानस्थल बनाउने र कमिशनको चक्करमा अधिकारी रहेको आरोप पनि छ । पोखरामा भएको जहाज दुर्घटनाका कारण अधिकारी खुम्चिएका छन् ।
दुर्घटना जाँच बुझ आयोगको संयोजकमा नगरेन्द्रप्रसाद घिमिरे छन् । घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् ।
सदस्यहरूमा नेपाली सेनाका उपरथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त क्याप्टन सुनिल प्रधान, श्री एयरलाइन्सका मेन्टिनेन्स ईञ्जिनियर एकराजजंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
उता, महानिर्देशक अधिकारीले प्राधिकरणमा ‘अनुगमन ईकाइ कमिटी’ बनाएका छन् । कमिटीमा प्रशासन प्रमुखहरू राखिने गरिन्छ । अल्पमतमा पर्ने डरले अधिकारीले ईन्जिनियर नलबिक्रम थापा र राष्ट्रिय गौरवका आयोजना हेर्ने राजेन्द्र पौडेललाई पनि सदस्य बनाएका छन् । पहिला ३ सदस्यीय रहने कमिटीलाई अधिकारीले अहिले ५ सदस्यीय बनाएका छन् ।
प्राधिकरणका महानिर्देशक अधिकारीका कर्तुत र गलत कुराको राष्ट्रिय दैनिक पत्रिकाहरू कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण तथा अनलाइन खबर, सेतोपाटी, रातोपाटी जस्ता मिडिया चुपचाप छन् । उनीहरू किन अधिकारीका विषयमा लेख्दैनन् रहस्यको विषय बनेको छ । अधिकारीले ती मिडियाका पत्रकारलाई किनेका कारण समाचार नआएको आरोप प्राधिकरणका कर्मचारीहरूको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया