जहाज दुर्घटनाको तथ्य पत्ता लगाउन पहिला प्रदीपलाई निलम्बन गर्नुस् प्रचण्ड-रविज्यू, कुरा यस्तो हो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ९ एन–एएनसी कलसाइन नम्बरको एटिआर–७२ जहाज दुर्घटना भएको घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी कानमा तेल हालेर बसेका छन् । अधिकारीले २४ घण्टा वितिसक्दा समेत औपचारिक रुपमा बोलका छैनन् । आफ्ना आसेपासे र चम्चाहरूलाई बोल्न लगाएका छन् । तर, आफू कुनाभित्र लुकेर बसेका छन् ।

महानिर्देशक अधिकारीले १५ दिन अगाडि धुमधामसँग कार्यक्रम गरेर पोखरा विमानस्थल उद्घाटन गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थल नजिकै यती एयरलाईन्सको जहाज दुर्घटना भएपछि गम्भीर प्रश्न उठेको छ । पोखरा विमानस्थल आवश्यक थियो कि थिएन ? बहसको विषय बनेको छ । चीनसँग मिटर व्याजमा ऋण लिएर बनाइएको पोखरा विमानस्थलमा धेरै त्रुटिहरू देखिएका छन् । त्यसको जिम्मेवारी पनि अधिकारीले नै लिनुपर्छ ।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि नागरिक उड्डयनको क्षेत्रमा भद्रगोल र अस्तव्यस्त नै भएको छ । अधिकारी आएपछि मुस्ताङमा तारा एयरको जहाज दुर्घटना भएको छ । अहिले पोखरामा ७२ जनाको ज्यान जाने गरेर एटीआर जहाज दुर्घटना भएको छ ।

प्राधिकरणभित्र भ्रष्टाचार र अनियमितताका कुराहरू पनि बाहिर आइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणमा आफै आएर कागजपत्रहरू कब्जा गरेर लगेको छ । पोरामा प्याराग्लाइडिङको लाईसेन्स दिने कुरामा उप–सचिव प्रमोद नेपाल पैसासहित पक्राउ परे । तर, महानिर्देशक अधिकारी बचे । त्यो काण्डमा अधिकारी र नेपालको मिलोमतो थियो भन्नेहरू धेरै छन् ।

समग्रमा अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि उड्डयन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । नेपालमा भएको आन्तरिक हवाई दुर्घटनामा ठूलो संख्यामा मानिस मारिएको यो नै पहिलो घटना हो ।

प्राधिकरणका महानिर्देशक अधिकारी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रमुख थिए । अधिकारी अहिले प्राधिकरणको महानिर्देशक छन् ।

चीनलाई खुसी बनाउन हतार–हतारमा पोखरा विमानस्थल उद्घाटन गराएका अधिकारीले आइतबार भएको दुर्घटनाको जिम्मेवारी लिने कि नलिने ? प्रश्न उठेको छ ।

अर्को रोचक विषय त के छ भने ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको यती एयरलाईन्सको सोही जहाज दुर्घटनामा परेको छ । जहाजको पाइलटहरू कमल केसी र अञ्जु खतिवडा नै छन् ।

सरकारले जनताको आक्रोशको सामना गर्न सार्वजनिक विदा दिएको छ । एउटा छानविन समिति बनाएको छ । टालटुले कार्य गरेको छ ।

दुर्घटना किन र कसरी भयो ? कसको लापरबाहीले भयो ? भन्ने कुरामा ध्यान दिएको छैन । विदा दिएर सरकारले सबै कुरा सामान्य रुपमा लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैभन्दा पहिला प्राधिकरणका महानिर्देशक अधिकारीलाई हटाएर छानविन गर्नुपर्ने थियो । तर, त्यसो गरेनन् । उनै महानिर्देशक अधिकारीले कारबाहीको भागिदार हुनबाट बच्न प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर चाकडी गर्न भ्याइहाले ।

सरकारले सक्छ भने अझै केही बिग्रिएको छैन । महानिर्देशक अधिकारीलाई छानविन पूरा नहुँदासम्म निलम्बन गरेर छानविन र अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्छ । होइन भने महानिर्देशक अधिकारीले आफू अनुकूलको प्रतिवेदन ल्याउन दवाव दिनेछन् ।

दुर्घटनाको जिम्मेवारी लिनुपर्छ । त्यसको जिम्मेवारी महानिर्देशक अधिकारीले नै लिनुपर्छ । सामाजिक सञ्जालमा महानिर्देशक अधिकारीमाथि नै प्रश्न उठेको छ ।

Published : Monday, 2023 January 16, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया