प्रचण्ड बालकोट नगएपछि ओली लखर–लखर बालुवाटार छिर्न थाले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट जान नमानेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओली खुरुखुरु बालुवाटार जान बाध्य भएका छन् ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत पाएपछि ओली छलफलका लागि लुरुलुरु बालुवाटार जान बाध्य भएका हुन् । ओली शनिबार बिहान पनि दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।

बालुवाटारमा दाहाल र ओलीबीच सभामुख र उप–सभामुख तथा राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी भएको बुझिएको छ ।

एमालेका अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई सभामुख र राष्ट्रपति निर्वाचनमा दायाँबायाँ नगरेर पूर्वसर्तअनुसार एमालेलाई दिन स्मरण गराएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको र आफूलाई विश्वासको मत दिएका कारण परिस्थिति केही बदलिएको संकेत ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा सभामुख र राष्ट्रपतिका विषयमा कांग्रेससँग पनि परामर्श गर्ने बताइसकेका छन् ।

प्रधानमन्त्री दाहालले सभामुख र राष्ट्रपतिको निर्वाचन अगाडि मन्त्रिमण्डल विस्तारका लागि ओलीसँग आग्रह गरेका छन् ।

मन्त्रालय बाँडफाँट र मन्त्रीहरूको नाम दिन एमालेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् । ओलीले दाहालको आग्रहलाई आलटाल गरिदिएका छन् ।

कांग्रेसले विश्वासको मत दिएपछि बलियो अवस्थामा रहेका प्रधानमन्त्री दाहालले एमालेका अध्यक्ष ओलीले भनेकै आधारमा सबै निर्णय गर्न जोखिम नलिने संकेत गरेका छन् ।

विश्वासको मत पाउनुभन्दा अगाडिसम्म प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीलाई भेट्न निरन्तर बालकोट जाने गरेका थिए । पछिल्लो समय दाहाल बालकोट जान पातो गरेका छन् ।

ओली आफ्नो स्वार्थका लागि लुखुर लुखुर दाहाललाई भेट्न बालुवाटार जान थालेका छन् ।

ओलीले प्रधानमन्त्री दाहाललाई केही समय समेत कुर्ने गरेको चर्चा बालुवाटारमा हुन थालेको छ । विगतमा प्रधानमन्त्री भएका बेला ओलीले दाहाललाई कुराउने गर्थे । दाहालले ओलीलाई धेरै नकुराए पनि ५÷१० मिनटसम्म कुराउने गरेको माओवादीका एक नेताले बताएका छन् ।

Published : Saturday, 2023 January 14, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया