शक्तिशाली अन्तर्घातीविरुद्ध कांग्रेसको हेडक्वाटरमा उजुरी

पोखरा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गरको भन्दै नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीविरुद्ध उजुरी परेको छ ।

केसीलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको हो ।

पूर्वसभापति केसीलाई कांग्रेसका उम्मेदवार किशोरदत्त बराललाई हराउन अन्तर्घात गरेको आरोप छ । बराल कास्की– १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए । प्रदेश सभा १ (१) का उम्मेदवार दीपक गुरुङ पनि पराजित भएका थिए ।

बराल र गुरुङले पूर्वसभापति केसीले अन्तर्घात गरेका कारण आफूहरू पराजित भएको उजुरीमा उल्लेख गरेका छन् ।

उनीहरूले पूर्वसभापति केसीविरुद्ध विभिन्न प्रमाणहरू पनि कांग्रेसको केन्द्रीय अनुशासन समितिमा बुझाएका छन् ।

कांग्रेसभित्र अन्तर्घातको ठूलो रोग छ । कांग्रेसमा अन्तर्घात नहुने हो भने कम्युनिस्टले जित्न सक्दैनन् ।

पूर्वसभापति केसीले अन्तर्घात गरेको भन्दै कारबाहीको माग गरेर उनको पोखरास्थित घर अगाडि कांग्रेसका नेता कार्यकर्ताले नारावाजी गरेर प्रदर्शन समेत गरेका थिए ।

Published : Tuesday, 2023 January 3, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया