‘धोकेवाज’ प्रचण्डले हाले निवेदन, कांग्रेसले साथ देला ?

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुसको अन्तिम साता विश्वासको मत लिने भएका छन् ।

दाहालले सोमबार संसद सचिवालयलाई पठाएको पत्र (निवेदन)अनुसार पुस २६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरुप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु’, प्रधानमन्त्री दाहालद्वारा संसद सचिवालयका महासचिवलाई लेखिएको पत्रमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिनका लागि व्यवस्था गर्न सांसदलाई पत्र पठाएका छन् ।

एमालेसहितका साना दलहरूकोसमर्थनमा दाहाल प्रधानमन्त्री बनेका छन् । दाहाललाई आफ्नो दल माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी तथा स्वतन्त्र सांसदहरूको समर्थन छ ।

दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई राष्ट्रपतिले पुस १० गते साँझ प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिधिसभाबाट विश्वासको मत ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

दाहालले पुस २६ गते कम्तिमा पनि १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री बन्न दाहालले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायतका दलहरूलाई बीचमा छाडेर एमालेको पछाडि लागेका थिए ।

दाहालले बीच बाटोमा छाडेर हिँडेपछि कांग्रेस रिसाएको छ । कांग्रेसका नेताहरूले दाहाललाई सार्वजनिक रुपमै धोकेवाज भनेर आलोचना गरिरहेका छन् । तत्काल देउवा र दाहालबीच सम्बन्ध हुने लक्ष्ण देखिएको छैन ।

विश्वासको मत लिने दिन कांग्रेसले प्रधानमन्त्री दाहाललाई साथ दिने छैन । लोकतान्त्रिक समाजवादी पार्टीले पनि दाहाललाई समर्थन गर्नेछैन ।

Published : Monday, 2023 January 2, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया