पोखरा विमानस्थलको ऋणको व्याज चीनले महँगो लिएको मुख्यमन्त्रीकै खुलासा

पोखरा । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दिएको ऋणको ब्याज निकै महँगो रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको भनाइबाट पनि पुष्टि भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् । मुख्यमन्त्री पोखरेलको यो अभिव्यक्तिले चीनले नेपाललाई मिटर व्याजमा ऋण लगानी गरेको पुष्टि भएको छ ।

चीनले कुनै पनि बेला नेपाललाई श्रीलंकाको हालतमा पु¥याउनेछ । चीनले नेपाललाई महँगोमा ऋण लगानी गरिरहेको छभन्ने पुष्टि हुँदाहुँदै नेपालका कम्युनिस्टले चीनबाट पुनः ऋण लिने प्रयासहरू गरिरहेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रू.२२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् ।

‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु’, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब रू.२२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो ।

मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको पनि बताएका छन् ।

उनले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शंकरराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिएका छन् ।

विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

‘पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ’, उनले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गरेका छन् ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आवश्यक बजेट विनियोजनका लागि उनले आग्रह गरेका छन् ।

Published : Sunday, 2023 January 1, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया