दुई महामन्त्री थापा र शर्माले बल्ल देउवालाई बुझे, एक भयो कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गते नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक दिन रहेको जनाएको छ ।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त विज्ञप्ति जारी गरेर बिक्रम संवत २०३३ सालमा आजकै दिन राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर जननायक वीपी कोइराला निर्वासनबाट स्वदेश फर्किएको स्मरण गरेका छन् ।
त्यसबेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन वीपीले गरेको आह्वान आज पनि उत्तिकै सान्दर्भिक रहेको कांग्रेसले जनाएको छ ।
‘यो घडीमा हामी जननायक वीपीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै स्वदेश र विदेशमा रहनुभएका नेपाली कांग्रेस पार्टीका समर्थक र शुभेच्छुक तथा सबै लोकतन्त्रवादी नेपाली दिदीबहिनी, दाजुभाइहरूमा त्यो संदेशको मर्मलाई आत्मसात गर्दै एकतावद्ध भएर हरेक चुनौतीको सामना गर्न आग्रहसहित हार्दिक अभिवादन गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भनेको छ, ‘गत मंसिर ४ मा सम्पन्न निर्वाचन पश्चात् मुलुकमा भिन्न राजनैतिक परिस्थिति निर्माण भएको छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनु पर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक होइन ।’
‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने’, कांग्रेसले भनेको छ, ‘दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने ।’
‘नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ’, महामन्त्रीद्वय शर्मा र थापाले भनेका छन् ।
‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौं । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं’, कांग्रेसले भनेको छ, ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने तर, निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भुमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।’
‘नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौं चुनौती र अफ्ठ्यारा मोडहरु सामना गरेको छ तर, हर चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ ।’
‘त्यसैले अहिलेको परिस्थितिलाई पनि संकटका रूपमा लिएर हताश हुने छुट हामीलाई छैन, बरु यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ’, विज्ञप्तिमा भनिएको छ ।
‘कांग्रेसमा आज जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ, अहिलेको परिस्थितिलाई शक्तिमा वदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ । त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्नेछ ।’
‘विधानत, पार्टीमा वनाउनुपर्ने सवै संरचनाहरू र भातृ तथा सुभेच्छुक संस्थाहरुको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, विधान बमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अबिलम्ब गर्नुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसलाई तदारुकताका साथ अगाडि वढाउने छौं ।’
‘कार्यकर्ता पंक्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनस्र्थापित गर्नेगरी पार्टीलाई दिशा निर्देश गर्न पार्टीमा आत्मसमीक्षा गरेरमात्रै पुग्दैन त्यसलाई सच्याउँदै आफू वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बदलिएको कांग्रेस र बलियो कांग्रेसको सुस्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हामी हरेकले फेरि एकचोटी जुर्मुराउनु पर्नेछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा पार्टीको केन्द्र देखि टोलसम्म, भातृसंस्थाहरूदेखि शुभेच्छुक संस्थाहरूसम्म, पेशागत बुद्धिजीवीहरूदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म हामी जो जहाँ छौं, त्यहीँबाट संस्थागत या व्यक्तिगत रुपमा गर्न सक्ने योगदानका लागि थप उत्साह, एकता र रुपान्तरणको भावनासाथ अघि बढ्न हामी अपील गर्दछौं ।’
‘आजको समयसम्म आइपुग्दा वैचारिक रुपान्तरणले होस् या बाध्यताले नेपालका प्राय सबै राजनैतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन्’, थापा र शर्माले भनेका छन्, ‘लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ । यसमा हामीले सन्तोष मान्नुपर्छ किनकि मुलतः यो वीपी कोइरालाको राजनैतिक विचार र प्रभावको विजय हो । तर यसै व्यवस्था भित्र जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न नेपाली कांग्रेस सदैब सजग रहनुपर्छ, रहनेछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता र मेलमिलापको आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली थियो । सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति संभव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा हामी प्रष्ट र दृढ छौं । त्यो यात्रामा हामी अविचलित ढंगले समर्पित रहनेछौं ।’
कांग्रेसका बारेमा सत्तालाई लिएर विभिन्न खालका अस्वस्थ्य प्रतिक्रिया र टिप्पणी आइरहेका बेला दुई महामन्त्री थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गरेर भ्रमहरूलाई चिर्ने प्रयास गरेका छन् ।
थापा र शर्माको विज्ञप्तिले सभापति शेरबहादुर देउवालाई राहत मिलेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया