कीर्ते काण्डबाट बच्न गृहमन्त्री लामिछाने दिनदिनै बार्दली चढ्न थाले

काठमाडौं । सञ्चारकर्मी रहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेता विष्णु पौडेललाई तथानाम गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दैनिक सरह बालकोट धाउन थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कमजोर कम्युनिस्ट सरकारका उप–प्रधान एवम् गृहमन्त्री रहेका लामिछानेले मंगलबार ओलीलाई भेटेका छन् । ओलीसँगको भेट उप–प्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले मिलाइदिएका हुन् ।

पौडेललाई चारआने सुकुम्बासी भन्ने गरेका लामिमछाने अहिले उनै पौडेल र एमालेको पछि लागेर मन्त्री खाएका छन् ।

ओलीलाई बालुवाटारबाट बोलकोटको बार्दलीमा पुगेको भनेर आलोचना गरेका लामिछानेले कुनै बेला ओलीको गाडीमा ढुंगा हान्न टेलिभिजन कार्यक्रमबाट आदेश समेत दिएका थिए ।

अहिले गृहमन्त्री बनेपछि उट्पट्याङ निर्णयहरू गरेर विवादमा पर्न शुरु गरेका बेला लामिछानेले ओलीको संरक्षण र साथ खोज्न थालेका छन् ।

प्रचण्ड, ओली, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठलगायतलाई गाली गरेर कहिल्यै नथाकेका लामिछाने कम्युनिस्ट सरकारमा सहभागी भएका छन् ।

उप–प्रधानमन्त्री र गृहमन्त्री नपाए सरकार ढाल्नेसम्मको चेतावनी दिएर गृहमन्त्री लिएका थिए ।

कीर्ते नागरिकता र राहदानी काण्डमा परेका लामिछानेलाई अमेरिकन नागरिक भन्ने आरोप छ । उनले पुरानो नागरिकतालाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्दै आएको आरोप छ ।

लामिछानेले नागरिकता र राहदानी कीर्ते काण्डबाट बच्नका लागि गृह मन्त्रालय मागेको आरोप छ । उनको नागरिकता र राहदानी कीर्ते काण्डको मुद्दा अदालतमा पनि विचाराधीन छ ।

ओलीलाई बालकोट भेट्न जाने क्रममा लामिछानेले आफ्ना सहयोगी दीपक बोहरालाई पनि लिएर गएका थिए । बोहराले गृह मन्त्रालय चलाउने गर्छन् ।

Published : Wednesday, 2022 December 28, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया