रविले झण्डै ढालिदिएका थिए प्रचण्डको सरकार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णयको फाइदा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अवसर लिएका छन् ।

रास्वपाका सभापति लामिछानेले उप–प्रधान र गृह मन्त्री मागेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चकित तुल्याइदिएका छन् ।

लामिछानेले उप–प्रधान र गृह मन्त्रालय लगेपछि गठबन्धनभित्रकै नेताहरूबीच मतभेद सिर्जना भएको छ ।

उप–प्रधानसहित गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको उच्च स्रोतले जनाएको छ ।

माओवादीले गृह मन्त्री बनाउन नारायणकाजी श्रेष्ठ वा वर्षमान पुनलाई तयार राखेको थियो । सरकार छाड्ने धम्की दिएर लामिछानेले गृह मन्त्रालय लिएका छन् ।

सोमबार बिहानैदेखि रास्वपा अध्यक्ष लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट समर्थन फिर्ता लिने धम्की दिएका थिए ।

लामिछानेको धम्कीपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओली र दाहाल दुवैले सम्झाउने प्रयास गरेका थिए ।

ओली र दाहालले गृहबाहेक कुनै एक मन्त्रालय रोज्न र उप–प्रधानमन्त्रीसहित सोही मन्त्रालयको जिम्मा दिने प्रस्ताव पनि लामिछानेलाई गरेका थिए ।

लामिछानेले जसरी पनि गृह मन्त्रालय नै चाहिने अडान राखेका थिए ।

सभापति लामिछानेले गृह मन्त्रालय नपाए सरकार ढालिदिने चेतावनी दिएको माओवादी नेताहरूले बताएका छन् ।

दाहालले बाध्यतामा गृह मन्त्रालय लामिछानेलाई सुम्पेका छन् । अनुभव नभएका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी लिएपछि प्रधानमन्त्री दाहाललाई काम गर्न असहज हुने विश्लेषण भएको छ ।

लामिछानेलाई गृह मन्त्रालय दिएकोमा एमाले नेताहरू पनि असन्तुष्ट छन् ।

नागरिकता विवादमा मुछिएका लामिछानेलाई गृह जस्तो मन्त्रालय दिन नहुने एमाले नेताहरूको भनाइ छ ।

लामिछाने नागरिकता विवादमा मुछिएका मान्छे हुन् । अदालतमा मुद्दा विचाराधीन छ ।

प्रहरीले त्यही व्यक्तिको नागरिकता प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

अनि त्यस्ता व्यक्तलाई गृहकै जिम्मेवारी दिनु शोभनीय नभएको एमालेका एक पोलिटव्यूरो सदस्यले बताएका छन् ।

सभापति लामिछानेले सत्तासँग सौदाबाजी गरेका छन् । यस्तो सौदाबाजी धेरै समय टिक्न सक्ने छैन ।

मंसिर ४ को निर्वाचनअघि नै लामिछाने नागरिकता विवादमा मुछिएका थिए ।

अमेरिकी नागरिकसमेत रहिसकेका लामिछानेले पुरानै नागरिकताको आधारमा उम्मेदवारी दिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

अदालतमा मुद्दा परेपछि जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय हुँदै नेपाल प्रहरीले लामिछानेको नागरिकतामाथि छानबिन गरिरहेको छ ।

Published : Monday, 2022 December 26, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया