पहिलो कार्यकालमा प्रधानमन्त्री को बन्ने भयो ?

काठमाडौं । नेपाली कांग्रेससँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राखेका छन् ।

शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी नछोडेका हुन् ।

सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफूले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।

गठबन्धनको तर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरेपछि अब पहिलो कार्यकाल आफूले पाउनुपर्ने कुरा अध्यक्ष दाहालले बैठकमा धारणा राखेका छन् ।

देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताएका छन् ।

देउवाले आफूले मात्रै भनेर नहुने दाहाललाई जवाफ दिएका छन् ।

‘साथीहरूको कुरा पनि सुन्नुपर्‍यो’, देउवाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘अहिले नै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन् । मैले पार्टीभित्र छलफल गरिरहेको छु ।’

शनिबारको बैठकमा सहमति नजुटेपछि आइतबार बिहान १० बजे गठबन्धनको बैठक फेरि बोलाइएको छ ।

आलोपालो नेतृत्वका लागि सबै तयार रहेपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा सहमति नभएको हो ।

कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले आलोपालो नेतृत्वका लागि कुनै विवाद नै नरहेको बताएका छन् ।

‘पहिलो कार्यकालका विषयमा हामी जहाँको त्यहीं नै छौं’, खड्काले भनेका छन् ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

कार्कीले कार्यकालको विषयले गठबन्धन नटुट्ने बताएका छन् ।

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उप–सभामुखबारे आइतबार नै छलफल हुने कार्कीले बताएका छन् ।

नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्ष नेताको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी छिन् ।

गठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन् ।

उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

शनिबार खुमलटारस्थित दाहाल निवासमा पुगेर उनले गठबन्धनलाई नभत्काउन आग्रह गरेका हुन् ।

आफूले खुमलटार पुगेर गठबन्धन जोगाउन दाहालसँग आग्रह गरेको पौडेलले बताएका छन् ।

दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव महशुस हुने भन्दै पहिलो कार्यकालमा आफ्नो नेतृत्व नछोड्ने अडान लिएका छन् ।

पौडेलले कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका छन् ।

यसैबीच, कांग्रेसले नयाँ सरकार गठनको लागि आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर लिएको हो ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी पेश गर्न पुस ३ मा दिएको एक साताको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ ।

शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर लिइएको हो । केही सांसदको हस्ताक्षर लिन बाँकी छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सांसदहरूलाई बोलाएका छन् । कांग्रेसमा ८९ जना सांसद छन् ।

कांग्रेसले अहिलेकै गठबन्धनमा केही दलको समर्थन जुटाएर सरकार बनाउने तयारी गरिरहेको छ ।

Published : Saturday, 2022 December 24, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया