पराजित भएपछि गगनले के भने ? दिए कांग्रेसलाई अफ्ठ्यारो पर्ने अभिव्यक्ति
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बन्द कोठाभित्र सत्ताका लागि सहमतिहरू नगर्न चेतावनी दिएका छन् ।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै थापाले आगामी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्दा कोठाभित्र हुने सहमति नमान्ने बताए । उनले आगामी सरकारमा आफू सहभागी नहुने बताएका छन् ।
महामन्त्री थापाले संसदीय दलको चुनावपछि आगामी सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको बताएका छन् ।
थापाले पार्टीको जानकारीबेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने बताएका छन् ।
उनले भने, ‘पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न । पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन ।’
उनले भनेका छन्, ‘म संसदीय दलकै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको हुँ ।’
‘अरुको नेतृत्वमा सरकारमा जाने प्रश्न आउँदैन’, उनले भने, ‘म आउँदो संसदीय दलको चुनावका लागि नै तयारी गर्छु ।’
थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको पनि बताएका छन् ।
संसदीय दलको नेता पदमा प्रतिस्पर्धा गरेका थापा सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका छन् ।
६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित भएका छन् । थापाले २५ मत पाएका छन् ।
थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन । तर म थाक्दिनँ, निराश हुन्न । थप मिहिनेत गर्छु ।’
उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’
थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।
दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।
बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।
यसैबीच, थापाले देउवालाई बधाई दिएका छन् । उनले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई शुभकामना दिएका छन् ।
चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको गगनले बताए । बहुसंख्यकले पार्टीमा यथास्थितिलाई नै रुचाएको कुरालाई सहजतापूर्वक नै लिएको उनको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया