बोर्ड सदस्य डोमा शेर्पाले बेइज्जत गरिन्, क्यानडामा भागिन्

काठमाडौं । नेपाल पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा क्यानडामा भागेकी छिन् ।

क्यानडाको बाँफमा अक्टोबर २९ मा भएको इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारण सभामा सहभागी हुन शेर्पा गएकी थिइन् । उनी कार्यक्रम सकेर स्वदेश फर्किनुपर्नेमा उत्तै भागेकी हुन् ।

अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष निमानुरु शेर्पाको टोलीसँगै उनी अक्टोबर २८ मा नेपालबाट क्यानडा उडेकी थिइन् ।

टोलीमा सहभागी सबै नेपाल फर्किसकेका छन् । बोर्ड सदस्य शेर्पा अझै फर्केकी छैनिन् ।

टोलीमा संघका महासचिव मोहन लम्साल, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल सहभागी थिए ।

सदस्य शेर्पा एकाएक बेपत्ता भएपछि टोलीका सदस्यले सम्पर्क गर्न खोजेका थिए । उनी सम्पर्कमा आइनन् ।

संघका महासचिव लम्सालले शेर्पा सभामा भाग लिन गएको, तर सँगै नफर्किएको स्वीकार गरेका छन् । सदस्य शेर्पाले क्यानडा जान तीन महिनाअघि नै भिसा अप्लाई गरेकी थिइन् ।

महिना दिनसम्म पनि नफर्केपछि संघले विभिन्न माध्यमबाट सम्पर्क गरी नेपाल फर्कन भनेको थियो । उनी विवाह गर्नुपर्ने बहाना देखाउँदै फर्कन मानिरहेकी छैनिन् ।

शेर्पा केही महिनाअघि मात्रै संघमा बोर्ड सदस्यमा निर्वाचित भएकी थिइन् । सगरमाथा आरोहणसमेत गरेकी उनी पत्रकार पनि हुन् ।

क्यानडा, अमेरिका, अष्ट्रेलियासहितका देशमा नेपालीहरू पठाउन मानव तस्करहरू सक्रिय छन् । सदस्य शेर्पा पनि मानव तस्करलाई साथ दिँदै क्यानडा भागेको चर्चा छ ।

Published : Thursday, 2022 December 15, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया