प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा सहमति

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा सहमति जनाएको छ ।

गृह मन्त्रालयले सेवा अवधि हटाउने प्रस्ताव अर्थमा पठाएको थियो । सो प्रस्तावमा सर्तसहित सहमति प्रदान गरिएको बुझिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पूरा गरेपछि अवकाशमा जाने कानूनी व्यवस्था छ ।

३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पूरा गरेर अवकासमा जाने उल्लेख छ ।

सरकारले अहिले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागू गर्ने तयारी गरिरहेको छ ।

अर्थबाट सहमति आएको प्रस्ताव अनुसार जागिर अवधि ३० वर्ष पूरा भए पनि ५८ वर्ष पूरा नहुँदासम्म आईजीपी अवकाशमा जाँदैनन् ।

गृह मन्त्रालयले प्रहरी नियमावली–२०१२ लाई संशोधन गरेर सेवा अवधि हटाउन प्रस्ताव गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को उमेर हद ५७ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

अहिले प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५६ वर्ष छ ।

३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सो व्यवस्था एक वर्षपछि मात्र लागू हुने गरी सहमति प्रदान गरेको छ ।

अर्थ मन्त्रालयबाट सो सर्तसहित पास भएको प्रस्ताव गृह मन्त्रालयमा गएको छ ।

मन्त्रिपरिषदबाट अध्यादेश ल्याएर सेवा अवधि हटाउने तयारी छ ।

अध्यादेशमार्फत प्रहरी ऐन–०१२ लाई संशोधन गरेर प्रहरी नियमावली–०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्ने तयारी गरेको छ ।

उमेर हद कति राख्ने भन्ने विषय छलफलमा रहेको गृहसचिव विनोदप्रकाश सिंहले बताएका छन् ।

Published : Tuesday, 2022 December 13, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया