रवि लामिछानेको सातोपुत्लो उड्यो, ५ लाखसहित जेल हुन सक्ने

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभाको सांसद पदमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी दिनेशराज मैनालीले पत्रकारहरूलाई बताएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लामिछानेको नागरिकताबारेमा छानविन र अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई पत्र आएको छ । प्रहरीले छानबिनको प्रक्रिया अघि बढाएको छ ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ । लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य बाहिर आएको छ ।

लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन् ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिएका छैन । कानूनअनुसार विदेशी नागरिकता लिने वित्तिकै नेपाली नागरिकता कायम रहँदैन ।

लामिछानेले निष्कृय भैसकेको नागरिकताका आधारमा सन् २०१५ मा नेपाली पासपोर्ट लिएको देखिएको छ । लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका छन् ।

लामिछानेविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको छ ।

प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ ।

कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानूनले सजाय तोकेको छ ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ ।

यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँच लाख रूपियाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

पूर्वसञ्चारकर्मी लामिछाने धेरै विवाद र काण्डमा परेका व्यक्ति हुन् । उनीविरुद्ध प्रेस काउन्सिल नेपालमा पनि धेरै उजुरी परेका थिए ।

पत्नी काण्डमा पनि लामिछाने परेका छन् । टेलिभिजन कार्यक्रमबाट एकाएक चर्चित बनेका लामिछानेले पार्टी खोलेर चितवनबाट जितेका पनि छन् । नेपालको कानूनको कमजोरी र छिद्रलाई प्रयोग गरेर संसदभित्र छिर्ने प्रयास गरेका लामिछानेका दिन गतिला छैनन् । लामिछाने जेल जान सक्ने सम्भावना पनि निकै छ ।

लामिछाने आफूले चलाएको कार्यक्रमका पत्रकारको आत्महत्या प्रकरणमा समेत मुछिएका थिए । लामिछानेले पछि दुरुत्साहनको आरोपबाट सफाइ भने पाएका थिए ।

Published : Friday, 2022 December 2, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया