लुम्बिनीमा ताला लागेपछि कोषका उपाध्यक्ष त्रिपाठी भागे, मोबाइल अफ

भैरहवा । लुम्बिनी विकास कोषभित्र जिम्मेवार पदमा बसेका सीमित व्यक्तिहरूले आफ्नो स्वार्थअनुसारको निर्णय गरेपछि सुरक्षा गार्ड र चौकीदारहरूले आन्दोलन गरेका छन् ।

कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भनिने ‘भिक्षु मैत्रेय’सहितको ‘ग्याङ’ले कोषभित्र कार्यरत साना र निमुखा कर्मचारीहरूको पेटमा लात हानेका छन् । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली, एमालेका नेता विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ‘ठूलो चलखेल’ गरेर कोषको उपाध्यक्षमा भित्रिएका त्रिपाठीले आफूलाई फाइदा हुने गरेर निर्णय गर्दै आएका छन् ।

त्रिपाठीको निर्णय र कदमलाई कोषाध्यक्ष ढुण्डीराज भट्टराई भनिने सिद्धिचरण भट्टराईले साथ दिँदै आएका छन् । त्रिपाठी र भट्टराईको जोडीलाई लुम्बिनी विकास कोषभित्र राम्रो फलिफाप हुँदै आएको चर्चा छ ।

उपाध्यक्ष त्रिपाठीले मंसिर १३ गत कोषमा कार्यरत अस्थायी र करारका सुरक्षा गार्ड तथा चौकीदारहरूका बारेमा एकलौटी निर्णय गरेर दुई सयभन्दा धेरै व्यक्तिमाथि ज्यादती गरेका छन् ।

२ सयभन्दा धेरै सुरक्षा गाडी र चौकीदार रहेकोमा उपाध्यक्ष त्रिपाठीले ३१ जनाको मात्रै दरबन्दी कायम गरेर नियुक्ति गरेपछि विरोध भएको हो ।

‘उपरोक्त विषयमा तपाईहरू मिति २०६९–०३–१२ मा प्रकाशित सूचनाअनुसार छनौट भई कार्यरतमध्ये हाल कोषमा रिक्त सुरक्षा गार्डको दरबन्दीमा कायम गर्ने भन्ने मिति २०७९–०७–१४ को श्रीमान उपाध्यक्षस्तरीय निर्णय भएकोले तपाईहरूमध्ये ३१ जनालाई सुरक्षा गाडी र चौकीदार दरबन्दीमा कायम गरिएकोव्यहोरा जानकारी गराइन्छ’, रिपब्लिका दैनिकलाई प्राप्त दरबन्दीमा कायम गरिएको सम्बन्धी पत्रमा उल्लेख छ ।

सुरक्षा गार्ड र चौकीदारहरूले आन्दोलन चर्काएपछि उपाध्यक्ष त्रिपाठी मोबाइल फोन अफ गरेर टापकसेका छन् ।

यस विषयमा प्रतिक्रिया लिन उपाध्यक्ष त्रिपाठीसँग सम्पर्क गर्दा फोन अफ छ । त्रिपाठी सम्पर्कमा आउन चाहेनन् । तालाबन्दी र आन्दोलनका बारेमा कोषका कुनै पनि कर्मचारीले प्रतिक्रिया दिन मानेका छैनन् ।

त्रिपाठीको ज्यादतीपूर्ण हर्कतको बचाउ कोषाध्यक्ष भट्टराईले गर्दै आएको आरोप छ ।

कोषाध्यक्ष भट्टराई पनि कम्तिका छैनन् । कोषको पैसा राष्ट्रिय बाणिज्य बैंकमा राख्नुको साटो नयाँ नयाँ बैंकमा कमिशनको लोभमा राख्ने गरेको आरोप छ । निजी बैंकमा कोषको पैसा राखे वापत आउने कमिशन कोषाध्यक्ष भट्टराईले उपाध्यक्ष त्रिपाठीलाई पनि दिने गरेको स्रोतको भनाइ छ ।

उपाध्यक्ष त्रिपाठीको ग्याङले लुम्बिनी विकास कोषलाई दुहुनो गाई बनाएका छन् ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउनेवित्तिकै ओली निकटका त्रिपाठी कांग्रेसका नेताहरूमार्फत बालुवाटार छिरिसेका छन् ।

Published : Thursday, 2022 December 1, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया