कस्तो छ नयाँ सरकारको समीकरण ? यसरी हुन सक्छ प्याकेजमा सहमति, ओलीको डेन्जर रणनीति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको नतिजाहरू आउने क्रम पातलो हुन थालेपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नयाँ सरकार बनाउनेबारेमा छलफल अगाडि बढाएको छ ।

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक सरह गठबन्धनका दलहरूसँग नयाँ समीकरणका विषयमा छलफल चलाएका छन् ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनावी परिणाम आउने क्रम अन्तिमतिर रहेको र केही दिनभित्रै समानुपातिकको पनि अन्तिम नतिजा आउने भएका कारण नयाँ सरकारबारे परामर्शहरू भइरहेको बताएका छन् ।

सरकार बनाउन कांग्रेसलाई १३८ सांसद भए पुग्छ । कांग्रेसले यो संख्या सहजै रुपमा पाउन सक्छ ।

सरकार बनाउने क्रममा गठबन्धनले प्याकेजमा सहमति गर्ने तयारी गरेको बुझिएको छ ।

केन्द्र सरकार र प्रदेश सरकार कसरी बनाउने भन्नेमा सहमति गर्नुपर्छ । त्यसपछि राष्ट्रपति र उप–राष्ट्रपति, सभामुख र उप–सभामुखमा पनि गठबन्धनले सहमति गर्नेछन् ।

एउटै दलले प्रधानमन्त्री र राष्ट्रपति पाउने छैन । राष्ट्रपतिमा कांग्रेसबाट शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमध्येबाट एक जना हुन सक्ने चर्चा छ । कांग्रेसले यो विषयमा केही पनि भनेको छैन ।

प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रयास गरिरहेका छन् । सहमति भएमा दाहाल पनि प्रधानमन्त्री बन्न सक्छन् ।

कांग्रेसले हालसम्म प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५३ सिट जितेको छ । कांग्रेसले समानुपातिकमा प्रतिनिधि सभामा ३३ देखि ३५ सिटसम्म पाउन सक्छ । यो अवस्थामा कांग्रेसको समानुपातिक र प्रत्यक्षमा गरेर करीव ९० सिट आउने देखिएको छ ।

माओवादी केन्द्रको प्रत्यक्षमा १७ सिट छ । समानुपातिकमा करीव १५ सिट आउन सक्छ । यस्तो अवस्थामा माओवादीले पनि समानुपातिक र प्रत्यक्षमा गरेर ३२ देखि ३५ सिट ल्याउने प्रारम्भीक अनुमान छ ।

नेकपा (एकीकृत समाजवादी)ले १० सिटमा प्रत्यक्षतर्फ जितेको छ । थ्रेस होल्ड कटायो भने एकीकृत समाजवादीको समानुपातिकमा ३ सिट आउन सक्छ ।

जनता समाजवादीको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट गर्दा गठबन्धनको बहुमत पुग्ने प्रारम्भीक संकेत छ ।

कांग्रेसले सबैभन्दा ठूलो दलको रुपमा सरकार बनाउन थाल्यो भने राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साहको स्वतन्त्र समूह पनि सरकारमा सहभागी हुन सक्छन् ।

उता, झण्डै दुईतिहाईको तत्कालीन सरकार गुमाएको एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन भित्रभित्रै गृहकार्य गरिरहेको छ । गठबन्धनबाट माओवादी केन्द्रलाई बाहिर ल्याएर सरकार बनाउने तयारीमा एमाले छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले जसपा, राप्रपा र माओवादी केन्द्रलाई लिएर सरकार बनाउन चाहेका छन् । ओली एक पटक प्रधानमन्त्री बन्न चाहन्छन् । ओलीले राष्ट्रपति पनि एमालेबाटै बनोस् भन्ने चाहनमा छन् ।

ओलीले आफू प्रधानमन्त्री बन्न नपाएमा प्रचण्डलाई प्रधानमन्त्री र आफू राष्ट्रपति बन्ने योजनामा रहेको एमालेका एक नेताको भनाइ छ ।

प्रारम्भीक अनुमानअनुसार एमालेले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकमा गरेर ७९ सिट पाउनेछ । जसपाको प्रत्यक्ष र समानुपातिकमा १२, राप्रपाको १५ तथा प्रचण्डको ३२ सिट भएमा ओलीलाई सरकार बनाउन केही सहज देखिन्छ ।

सरकार बनाउन कांग्रेसलाई सहज छ । तर, एमालेलाई त्यति सहज छैन । ओलीले कांग्रेसलाई रोक्न सबै प्रयास र जुक्ति लगाउनेछन् । तर, सफल हुने सम्भावना निकै कम छ ।

Published : Tuesday, 2022 November 29, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया