सभापति देउवाले दिए सबैलाई धन्यावाद, शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

आइतबार देउवाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ ।’

‘संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन्’, देउवाले भनेका छन् ।

‘यो आम निर्वाचनमा तपाईहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ’, उनले भनेका छन् ।

‘मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ’, सभापति देउवाले भनेका छन् ।

‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो’, देउवाले भनेका छन्, ‘यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।’

सभापति देउवाले भनेका छन्, ‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु ।’

उनले भनेका छन्, ‘निर्वाचनमा तपाईहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ ।’

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ’, देउवाले भने, ‘शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

देउवाले भने, ‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु ।’

‘निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु’, कांग्रेस सभापति देउवाले भनेका छन् ।

केही स्थानमा छिटफुट घटना बाहेक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सम्पन्न भएको छ ।

यसअघि पनि देउवा नेतृत्वका सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो ।

Published : Sunday, 2022 November 20, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया