बाजुरामा गोली चल्दा एकको मृत्यु, स्याङजामा हवाई फायर

काठमाडौं । बाजुरा जिल्लामा मतपेटिका खोस्न खोज्दा सुरक्षाकर्मीले सुरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार त्रिवेणी नगरपालिकाको वडा नं. ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर करीव २५ वर्षीय सञ्जीव अएडीको मृत्यु भएको स्थानीयले दाबी गरेका छन् ।

मतपेटिकाको सुरक्षाका लागि घटनास्थलमा प्रहरीले हवाइ फायर गरेको थियो ।

मतपेटिका बचाउने क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् ।

घाइते तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट लगिएको छ ।

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

यता, स्याङजाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ ।

चापाकोट नगरपालिका–१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो ।

गल्याङ–७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

क्षेत्रीका अनुसार दुबै ठाउँमा मतदान लम्बिएको छ । दुबै ठाउँमा करिब डेढ घन्टा मतदान रोकिएको थियो ।

Published : Sunday, 2022 November 20, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया