दाङका एमाले कार्यकर्ताले शहीद उमेशचन्द्र थापालाई न्याय गर्लान् ? फेरि कहिल्यै उठेनन्

घोराही । मंसिर ४ गते मतदान गर्ने दिन आएको छ । मतदाताहरु मतदान गर्न आतुर छन् ।

मतदान गर्दैगर्दा दाङका मतदाताले दोस्रो जनआन्दोलनका शहीद उमेशचन्द्र थापालाई स्मरण गरेर मतदान गर्नुपर्नेछ ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा थापाको ठूलो योगदान छ । आन्दोलनमा रहेका घोराही नगरपालिकाका शाही सरकारका तत्कालीन मेयरको आदेशमा नेपाली सेनालाई गोली हान्न लगाएर हत्या गरिएको आरोप त्यस बेलाका सबै राजनीतिक दलले ती शाहीकालीन मेयरलाई लगाएका थिए ।

एमालेले त ती मेयरको नामै किटान गरेर जिल्ला कमिटीको बैठकबाट निर्णय गराएर कारबाहीको माग समेत गरेको थियो ।

विडम्बना त्यही शाहीकालीन मेयरलाई अहिले आएर एमालेले टिकट दिएको छ । जिताउन लागेको छ ।

एमालेका नेता कार्यकर्ताले उमेश थापाको बलिदान र योगदान भुलेका छन् । हुन पनि किन नभुलुन् पैसा र शक्तिको आडमा चलेको राजनीतिमा उमेश थापाहरु धुलो बनेर गएका छन् ।

यस्ता उमेश थापाहरुको कुनै मूल्य रहनेछैन । तिनै मण्डलेहरुको हालिमुहाली एमालेमा मात्रै होइन सबै दलमा रहनेछ । उमेश थापाको शालिकमा पहिला माला लगाइदिन तिनै मण्डलेहरु पुग्नेछन् ।

ती शाहीकालीन मेयरलाई एमालेले संरक्षण गरेर राखेको छ । एमालेले शहीद उमेश थापाप्रति न्याय गरेको छ वा अन्याय गरेको छ मंसिर ४ गतेको मतदानका क्रममा मतदाताहरुले फैसला गर्नेछन् ।

उमेश थापाको हत्या आरोप लागेका ती शाहीकालीन मेयरलाई संरक्षण गर्ने एमालेका शीर्ष नेतालाई पनि मतदाताले के फैसला गर्छन् हेर्न बाँकी छ ।

शहीद उमेश थापाकी पत्नी केही दिन अगाडि घोराहीमा आएकी थिइन् । उनले मतदाताहरुसँग भेटघाट पनि गरेकी छिन् । त्यस बेला उनले शहीदका अपमान गर्नेप्रति मतदाताहरुले कठोर निर्णय लिनुपर्ने बताएको एमालेकै नेताहरुले बताएका छन् ।

फेरि कहिल्यै उठेनन् उमेशचन्द्र

नवीन नेपाली
annapurna post

नारायणपुर : २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो। ती दलसँग आन्दोलनको विकल्प थिएन। आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो। माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो।

खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ। त्यसकारण पनि आन्दोलनमा अन्य दलको समेत सहभागिता थियो। आन्दोलनमा सर्वसाधारणको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले त्यसलाई थाम्न सक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए। त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो। जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको शहीद मार्ग हुँदै अगाडि बढिरहेका थिए, यही जुलुशमाथि तत्कालीन शाही सेनाले गोली वर्षायो र एमालेका जिल्ला परिषद् थापाको ज्यान गयो। जनआन्दोलन २०६२–६३ को प्रथम शहीद उनी भए।

त्यस घटनामा घाइते कृष्ण गिरीले सम्झिन्छन् – ‘शाही सेनाले गोली चलाउनुपर्ने अवस्था थिएन। आन्दोलन निक्कै शान्तिपूर्ण थियो। अहिलेको रेडियो मध्यपश्चिम अगाडि त्यो समय झाङहरू थिए।’

उनी भन्छन्- ‘माथि ब्यारेकबाट आएको सेनाले एक्कासी गोली चलायो। मेरो एउटा पैतालामा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढलेँ। उता उमेश पनि ढल्नुभयो। उमेश घटनास्थलमै शहादत हुनुभएको हो। त्यसको केहीबेर पछि नै सेना आफैंले मलाई तत्कालीन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको याद छ।”

थापालाई एउटा गोली लागेको थियो। नाइटोदेखि तलको भागमा गोली लागेर ढलेका थापा फेरि कहिल्यै उठेनन्।

को हुन् उमेश ?

उमेशचन्द्र थापा प्युठानमा जन्मिएका हुन्। २०१२ असोज १० गते उनको जन्म दिन हो। आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मेका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हुँदै आएका थिए।

सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो। प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आएका थिए। उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुरु गरेका उमेशले विद्यार्थी कालदेखि नै राजनीति शुरु गरेका हुन्।

प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गरेका थिए। कम्युनिस्ट घटकको रुपमा उनले राजनीति सुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो। तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गर्नुभएको नेकपा दाङका नेता टीकाराम खड्काले बताए। उनी भन्छन् – ‘उहाँले विद्यार्थी राजनीतिमा पुर्‍याएको योगदान अहिले पनि स्मरणीय छ।’

२०३५/३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उनका समकक्षीहरू बताउँछन्। थापा विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा चार महीना जेल जीवन समेत भोग्न बाध्य भएका थिए।

थापाले नगर कमिटी सदस्यसमेत भएर काम गरेका थिए। उनको आफ्नै प्रेस थियो। प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरू कर्तव्यनिष्ठ भएर गर्थे।

थापाले विवाह प्युठानबाटै गरे। विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गरेका थिए। २०४१ फागुन २२ गते उनको मागी विवाह भएको हो।

सोही आन्दोलनमा घाइते कृष्ण गिरी घटना सम्झिन्छन् – ‘गोली लागेर घटनास्थलमै मृत्यु भएका उमेशलाई सेनाले गाडीमा काठको मुढा फाले झैं फालेर लगेको थियो। त्यो मलाई अहिले पनि याद आउँछ।’

‘तर, उमेशको साहसलाई मान्नुपर्छ। त्यो दिन जनसागर थियो घोराहीमा। त्यसको अघि अघि हुनुहुन्थ्यो उमेश। उहाँले देखाउनुभएको वीरताका कारण उहाँको महिमा अझै चुलिनु पर्छ’, उनी भन्छन्।

जीवनका २१ वर्ष सँगै बिताएकी एञ्जला आफ्नो भन्दा पनि बढी समाजका बारेमा सोच्ने व्यक्तिको रुपमा उमेशलाई पाएको अनुभव सुनाउँछिन्। उनले अरुको चाकडी गर्न भने कहिल्यै नजानेको एञ्जलाको मूल्याङ्कन छ।

थापाले शहादत प्राप्त गरेको १३ वर्ष पुगेको छ। सहिद थापाको सम्मानमा घोराहीमा द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ।

Published : Saturday, 2022 November 19, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया