एमालेका साईबर सेनाको हर्कतको भण्डाफोर, यो हदसम्मको निच कार्य गरे

काठमाडौं । माओवादी केन्द्र निकटका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालका अध्यक्ष विष्ण सापकोटाले एमाले निकटका पत्रकार र संस्थामा आबद्ध व्यक्तिहरुबाट भएको पछिल्ला हर्कतप्रति आपत्ति जनाएका छन् ।

शनिबार सापकोटाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमालेसम्बद्ध केही पत्रकारहरुले स्थापित अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘पराजित मानसिकताको उपजका रुपमा बस्नेत लगायत उनको संगठनका सदस्यहरुले सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइन, लोकपाटी लगायतका स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।

‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो’, अध्यक्ष सापकोटाले भनेका छन् ।

‘सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो’, उनले भने, ‘यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उल्लंघन पनि हो ।’

अध्यक्ष सापकोटाले भनेका छन्, ‘त्यसैले यस्तो आपराधिक कार्य गरी पत्रकार र पत्रकारिताको मूल्यमान्यता र मर्यादामाथि आघात पुर्‍याउने प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेत लगायत यस कार्यमा संलग्न सबै पत्रकारहरुलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछु ।’

‘आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहित रुपमा मतदान गर्ने वातावरण बनाउनु पर्ने अवस्थामा एउटा पेशागत पत्रकार संगठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लंघन हो’, अध्यक्ष सापकोटाले भनेका छन् ।

‘यस घटनालाई गम्भीर रुपमा लिई आवश्यक कार्बाहीका लागि कदम चाल्न प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगसमक्ष विनम्र अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता गलत कुरामा विश्वास नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यमका पाठक, दर्शक, स्रोताहरुलाई हार्दिक अनुरोध गर्दछु’, अध्यक्ष सापकोटाले भनेका छन् ।

सामाजिक सञ्जालमा केही अराजक तत्वले हुँदै नभएका समाचारलाई स्क्रीन सर्ट भनेर फोटोसपमार्फत मिलाएर भ्रम फैलाउने कार्य गरिरहेका छन् ।

यस्तो कार्यप्रति निर्वाचन आयोग, नेपाल प्रहरीको साईबर ब्यूरो, प्रेस काउन्सिल नेपालले कारबाही गर्नुको साटो मुकदर्शक बनेर बसेका छन् ।

Published : Saturday, 2022 November 19, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया