हेलिकप्टर चढेर गएका एमाले उम्मेदवारले याक काटेर भतेर खुवाए, आयोग हेरेको हेरै

काठमाडौं । नेपाली कांग्रेसले मनाङमा एमालेबाट भएको आचारसंहिता उल्लंघनविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

बिहीबार स्थानीय महेन्द्र घलेले एमालेका उम्मेदवार तथा जनप्रतिनिधिहरुबाट भएको आचारसंहिता उल्लंघनविरुद्ध उजुरी दिएका हुन् ।

एमालेबाट प्रतिनिधि सभातर्फ पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् । गुरुङसहितका नेता र कार्यकर्ताले आचारसंहित उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालय मनाङमा उजुरी परेको हो ।

दर्ता नं. ५ रहेको उजुरीमा भनिएको छ, ‘आचारसंहित उल्लंघनकर्ताको पूरा नाम पोल्देन छोपाङ गुरुङ, मेङमर फुन्चो लामा र फुन्चो वाङगे लामा ।’

उजुरीमा उनीहरुलाई कारबाहीको माग गरिएको छ ।

‘कात्तिक २० गतेका दिन प्रतिनिधि सभा सदस्य पद मनाङका एमालेको तर्फका उम्मेदवार पोल्देन छोपाङ गुरुले निर्वाचन आचारसंहिता २०७९ को दफा १४ को उपदफा १ को खण्ड छ विपरित निर्वाचन आयोगको अनुमति विना श्री एयरलाईन्सको हेलिकोप्टर प्रयोग गरि काङ्लापासको बाटो भई मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिका अन्तरगतको नार गाउँमा पुगी निर्वाचन आचारसंहिता विपरित मतदाताहरुलाई प्रभावित पार्ने देउश्यले याक काटेर भोज भतेर गरी निज पोल्देन छोपाङ गुरुङ, नार्पा भूमि गाउँपालिकाका उपाध्यक्ष मेङमर फुन्चो लामा, वडा नं. २ का वडाध्यक्ष फुन्चो वाङगे लामा लगायत आफ्ना समर्थकसहित हिंसात्मक गतिविधिको योजना बनाई पूर्व तयारी अवस्थामा तैनाथ गराई कात्तिक २५ गते निर्वाचन प्रसारको क्रममा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नार पुगी नार गेष्ट हाउसमा बसीरहेको अवस्थाम रातको ९ः३० बजेको समयमा माथि उल्लेखित व्यक्तिहरु लगायत करिव २० जनाको समूहले ढुंगामुढा लाठी चिरपट प्रयोग गरी नार गेष्ठ हाउसका सञ्चालक फुर्पा ठेले लामा र मिङमार छोपेल गुरुङ सख्त घाइते भई हाल उपचारार्थ काठमाडौंको ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा आईसियुमा उपचार गराइरहेको छन् ।’

‘निजहरुले निर्वाचन आचारसंहिता विपरित अनुमति बिना हेलिकप्टर प्रयोग गरेको, मतदाताहरुलाई प्रभावित गर्ने उदेश्यले याक काटी भोज भतेर गरेको, मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टेकबहादुर गुरुङलाई आक्रमण गर्ने योजना बनाई आक्रमण गरेता पनि नार गेष्ट हाउसका सञ्चालक फुर्पा ठेले लामा र मिङमर गुरुङ निजहरुको आक्रमणले सख्त घाइते भएकाले उक्त कार्य निर्वाचन आचारसंहिताको उल्लंघन भएकाले निजलाई निर्वाचन आयोगको दफा बमोजिम कारबाही गरिपाउँ’, उजुरीमा भनिएको छ ।

यसअघि एमालेले नेपाली कांग्रेसबाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका टेकबहादुर गुरुङलाई आचारसंहिता विपरित कार्य गरेको भनेर आरोप लगाएका थिए । नेता गुरुङलाई एमालेका नेता कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए ।

त्यस बेला आयोगले टेकबहादुर गुरुङलाई स्पष्टीकरण सोधेको थियो । यस पटक आयोगले एमालेका उम्मेदवारलाई अहिलेसम्म स्पष्टीकरण सोधेको छैन । आयोगले गरेको भेदभावविरुद्ध स्थानीय मतदाताहरु रिसाएका छन् ।

Published : Friday, 2022 November 18, 1:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया